• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्ः राजेन्द्र लिङ्देन ★   आईपीएल टोलीहरुले गरे नेपाली टिमको प्रशंसा ★   देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री लामिछाने ★   पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ – उपसभापति वाग्ले ★   ‘खल्तीमा राजीनामा पत्र बोकेर हिँडेका छौँ, सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो’ ★   अमेरिका २०२६ विश्वकपका लागि सिधै छनोट ★   एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो ★   न्यूजिल्यान्डको पहिलो जित  ★   काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने ★   मेलम्ची बाढीलाई फर्केर हेर्दा र विज्ञको बुझाई

प्राचीन कालमा विचरण गर्ने चारखुट्टे ह्वेलको नयाँ प्रजातिको अवशेष इजिप्टमा फेला पर्‍यो



बीबीसी । इजिप्टका वैज्ञानिकहरूले चार करोड ३० लाख वर्षअगाडि अस्तित्वमा रहेको चारखुट्टे ह्वेलको एउटा नयाँ प्रजाति पहिचान गरेका छन्।

वैज्ञानिक नाम "फिओमिसेटस अन्युबिस" दिइएको उक्त ह्वेल उभयचर थियो अर्थात् जल र भूमि दुवै ठाउँमा विचरण गर्थ्यो। उक्त ह्वेलको जीवावशेष इजिप्टको वेस्टर्न डिजर्टमा फेला परेको हो।

उक्त ह्वेलको खप्पर प्राचीन इजिप्टमा मृत्युका देवताका रूपमा पूजित स्यालको टाउको भएका अन्युबिससँग मिल्दोजुल्दो छ। त्यसैले यो प्रजातिको वैज्ञानिक नाम तिनै मृत्युदेवको नाममा राखिएको छ।

आधुनिक ह्वेलका पुर्खाहरू भूमिमा बस्ने मृगजस्ता स्तनपायी जीवबाट एक करोड वर्षको अवधिमा विकसित भएका हुन्। फिओमिसेटुस अन्युबिसको तौल झन्डै ६०० केजी र लम्बाइ तीन मिटर भएको र सिकार समात्न आवश्यक पर्ने भएकाले त्यसको च्यापु बलियो भएको प्रोसीडिङ्स अफ द रोयल सोसाइटीमा प्रकाशित शोधमा उल्लेख छ।

कहाँ फेला परेको हो ?
चारवटा खुट्टा भएको उक्त ह्वेल जमिनमा हिँड्न र पानीमा पौडिन सक्थ्यो।

इजिप्टको फायुम डिप्रेशनमा फेला परेको आंशिक अस्थिपञ्जरको मन्सूरा विश्वविद्यालयमा विश्लेषण गरिएको थियो।

त्यो क्षेत्रमा अहिले मरुभूमि भए पनि पहिला समुद्र थियो। त्यहाँ धेरै जीवावशेष फेला पर्ने गरेको छ।

"फिओमिसेटस अन्युबिस ह्वेलको एउटा महत्त्वपूर्ण नयाँ प्रजाति हो अनि इजिप्ट र अफ्रिकाको जीवाश्मविज्ञानका लागि एउटा महत्त्वपूर्ण खोज पनि हो," प्रमुख शोधकर्ता अब्दुल्लाह गोहरले समाचारसंस्था रोएटर्ससँग भने।

कति दुर्लभ ?
खु्ट्टा भएका ह्वेल फेला परेको यो पहिलो पटक हैन। तथापि फियोमिसेटुस अन्युबिस अफ्रिकामा फेला परेको प्रारम्भिक किसिमको अर्धजलचर ह्वेल भएको विश्वास गरिएको छ। पाँच करोड वर्षअघि दक्षिण एशियामा ह्वेलको उद्‌विकास भएको ठानिन्छ।

पेरुमा सन् २०११ मा वैज्ञानिकहरूले चार करोड ३० लाख वर्ष पुरानो चारखुट्टे ह्वेलको जीवाश्म भेटेका थिए। उक्त ह्वेलका औँलाका बीचमा जालो थियो र खुट्टामा खूरहरू पनि थिए।