• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

शिवालयमा भक्तजनको भीड



काठमाडाें ।   साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । दर्शनका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा लाममा बसेको उहाँले जानकारी दिनुभयो । भक्तजनका लागि सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।

मन्दिर दर्शनका लागि लाममा बसेका भक्तजन बिहानैदेखिको घामका कारण छाता ओढेर लाममा बसेको देखिन्छ । विगतका तीन हप्तामा भन्दा आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने बोलबम यात्रीको भीड लागेको छ । बोलबम यात्रीको पशुपति क्षेत्रमा भीड लागेपछि अहिले लाम गुह्येश्वरी मन्दिरसम्म पुगेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छुट्याइएको छ ।

सुन्दरीजलबाट खाली गोडा, पहेँलो एवं हरियो वस्त्र पहिरिएका भक्तजन लाम लागेर आएको दृश्य देखिन्छ । उच्च स्वरमा बोलबम शब्द गुञ्जायमान गराउँदै भक्तजन पशुपतिनाथ मूल मन्दिरतिर आइरहेका छन् । कति भक्तजन भने सवारी साधन प्रयोग गरेर पनि बोलबम यात्रामा सहभागी भएका छन् ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । बिहान ४ बजेदेखि नै यी मन्दिरको ढोका खुला गरिएको जनाइएको छ ।

यस अवसरमा देशका विभिन्न भागमा रहेका शिवालयमा पनि भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गर्छन् । यस वर्ष सौरमासअनुसारको साउन महिनामा पाँच सोमबार परेको छ । रासस