५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले पर्वतका चार परिवार विस्थापित, बस्ती जोखिममा



अ+ अ-

पर्वत । केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन् । पहिराले करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको छ ।

पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दासमेत त्रसित बनेका छन् । करिब दुई सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै छाडेका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो । स्थानीय कृष्ण सुवेदी, होमनाथ शर्मा, जगत् सुवेदी र रघुनाथ सुवेदीका परिवार पहिरोले पुरिने डरले घर छोडेर छिमेकीकोमा शरण लिइरहेका छन् ।

त्यस्तै आसपासका ६४ परिवार रहेको बस्ती पहिराको प्रत्यक्ष जोखिममा छ । पहिराका कारण गाउँमा वितरित विद्युत्का पोलसमेत ढल्न थालेपछि स्थानीयले विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रलाई जानकारी गराएका छन । दुई वर्षअघिदेखि खेतको फाँटमा धाँजा फाटेको र गत सोमबारदेखि परेको वर्षापछि खेतसहित पहिरो बगेर बस्तीमा खस्न थालेको स्थानीय शङ्कर सुवेदीले बताउनुभयो ।

विद्युत्को तार घरमा आएर करेन्ट लाग्ने हो भन्ने त्रासले राति घरमा बस्न नसकिएको उहाँले बताउनुभयो । पहिरोले १२ रोपनी जग्गासमेत बगाइसकेको छ । स्थानीय खिमनाथ सुवेदीले धान खेतसमेत बगाएपछि कहाँ बस्ने र के खाने भन्ने चिन्ताले सताएको बताउनुभयो । “अघिल्ला वर्षमै धाँजा फाटेको थियो”, वडाध्यक्ष रामचन्द्र सुवेदीले भन्नुभयो, “अहिले वरपरको थुप्रै खेतसहित बस्ती नै बगाउने गरी खसेको छ । अब तत्काल रोकथाम नगरे यो बस्तीका ६०–६५ परिवार विस्थापित हुनुपर्नेछ ।” नगरपालिका हुँदै प्रदेश र केन्द्रसम्म समस्या समाधानका लागि पहल गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।

पहिराले बस्ती नै बग्न थालेको जानकारीपछि कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, इन्जिनियरद्वय शिवप्रसाद बराल र सञ्जय लामिछाने, विद्युत् प्राधिकरणको कुश्मा वितरण प्रमुख शिवनारायण गोशली, भू तथा जलाधार व्यवस्थापन कार्यालयका इन्जिनियर विकास थापालगायतको टोलीले पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेको छ ।

अनुगमनपश्चात् प्राविधिक टोलीले तत्काल नियन्त्रणको प्रयास थाल्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि भू तथा जलाधार कार्यालयले ग्याभियन जाली तथा अन्य अस्थायी रोकथामका काम सुरु गर्ने जनाएको छ । विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख गोशलीले बस्तीमा जोखिम भएको विद्युत्का पोल फेर्न सुरु भइसकेको जानकारी दिनुभयो । “पहिरो खसेको स्थानमा तीन पोल जोखिममा छन् । एउटा पहिरोले बगाएर तल खसालेको छ”, उहाँले भन्नुभयो, “बाँकी दुई हटाउनुपर्ने छ ।”

गत वर्षजस्तो ठूलो वर्षा नभए पनि जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।




भर्खरै