• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   स्वास्थ्य क्षेत्रको सुधार गर्न भन्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव ★   महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल जारी छ: मन्त्री चौधरी ★   कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु ★   वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन ★   सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन ★   पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न ★   नयाँ दिल्लीको म्याक्स अस्पतालमा आरजु देउवाको शल्यक्रिया ★   टरवाइनको परीक्षण अन्तिम चरणमा ★   विश्वकपको यात्रा गर्नु खुशीको क्षण: प्रशिक्षक मोन्टी देसाई ★   २०८१ माघ ११ मा चलचित्र ‘अञ्जिला’ रिलिज हुने

पहिराेको त्रासले रित्तियो गाउँ



बलेवा । पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाड्नुभयो । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाड्नुभएका राजु पौडेल र सात वर्षमा विद्यालय छाड्नुभएका विकास पौडेल विद्यालयबाट मात्रै टाढा हुनुभएन, उहाँहरू जन्मेको थातथलो नै छाडेर हिँड्नुभयो ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टारगाउँमा रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उहाँहरू घर टुनीबोट गाउँमा पर्छ । यो गाउँबाट यस वर्ष वर्षा सुरु नहुँदै १० घरले थातथलो छाडेका छन् । राजु र विकासजस्तै अर्का शिक्षक यदुनाथ शर्मा जागिरे जीवनबाट अवकाश पाउँदाको भोलिपल्टै घर छाड्ने अर्का पात्र हुनुहुन्छ । घरखर्च चलाउनमात्रै खेती किसानी गरेर गुजारा चलाउनेदेखि विभिन्न पेशा–व्यवसायमा रहेर काम गरिरहेका अधिकांशले गाउँ छाडेका छन् ।

विसं २०७७ भदौ २८ र २९ गते यो गाउँमा आएको पहिराले यहाँका नौ घर पुरेको थियो । पहिरामा परेर दुई जनाको मृत्यु भयो । परापूर्वकालदेखि पहिराको त्रास नरहेको गाउँमा एक्कासी गाउँमाथिबाट आएको पहिराले घरबारी र ज्यान नै लिएपछि पुरिएका घरका विस्थापित भए । आसपासका घरहरू जोखिमकै कारण विस्थापित भए । गाउँका आधा परिवार विस्थापित भएपछि समुदाय नै मासिएको भन्दै घर छाडेर हिँड्नेको सङ्ख्या बढिरहेको छ ।

“न त घर जोखिममा थियो न मलाई रोजगारीको समस्या तर के गर्नु समुदाय नै नभएपछि एक्लै गाउँको घर कुरेर बस्न सकिएन्”, यसै वर्ष शिक्षकको जागिरसँगै घर छाडेर हिँड्न्भएका राजुले भन्नुभयो, “पहिराले विस्थापितहरूको समयमा व्यवस्थापन र जोखिमको दिगो निकास हुन नसक्दा यो अवस्था आयो ।” बाउबाजेले आर्जेको सम्पत्ति, आफैँले बनाएको घर र खाइपाइ आएको जागिर छाडेर हिँड्दा नराम्रो लागेको उहाँले बताउनुभयो ।

कुनै समय निकै चहलपहल हुने टुनिबोट बस्ती अहिले सुनसान छ । त्यहाँका ४६ घरमध्ये ३१ घरमा ताला ठोकिएका छन् । घरका छेउकुना र आँगन घाँस र झाडीले भरिएका छन् । कुनै बेला घर–घरमै रोजगार भएको टुनिबोट बस्ती अहिले सुनसान र डरलाग्दो झाडीका रूपमा परिणत भएको छ । पछिल्लो समय टुनिबोटमा १५ घरपरिवारमात्रै बसोबास गर्दछन् । उनीहरुसमेत समुदायकै अभावमा गाउँ छाड्ने मानसिकतामा छन् ।

“गाउँमा बसेर के गर्नु एउटा घर ओल्लो डाँडा अर्को घर पल्लो डाँडा छ, बाँदरले समेत एक्लैलाई टेर्दैन”, उहाँले भन्नुभयो, “गाउँ सकिएर जङ्गल भरियो, अब जङ्गलकै त्रासले गाउँ छाड्नुपर्ने छ ।” रोजगारीमा रहेका केहीले छाड्न नमिलेको र केही स्थानीयवासीको अन्यत्र जाने उपाय नै नभएकामात्रै गाउँमा रहेको शिक्षक राजु बताउनुहुन्छ । सडक नालीको प्रभावकारी व्यवस्थापन नगर्दा गएको पहिराले बस्ती उठाउने अवस्था आएको गाउँलेको आरोप छ ।

टुनीबोट गाउँबाट विस्थापितहरू चितवन, पोखरा, काठमाडौँ र बागलुङ बजारमा बस्ने गरेका छन् । केहीले घर बनाए भने अर्थावस्था कमजोर भएकाहरू भाडामा बसेर ज्यालादारीमा काम गरी छाक टार्छन् । दुई वर्षअघि पुरिएका घरसमेत पुनःस्थापना हुन नसकेकाले विपत्का बेला सहयोग नपाइने भन्दै उनीहरू घर छाडेको बताउँछन् ।

विपत्ले निम्त्याउने समस्या र बसाइँसराइ पछिल्लो समयको जटिल विषय भएको जैमिनी नगरप्रमुख नरबहादुर पुनको भनाइ छ । बसाइँसराइ रोकथामका लागि छलफल भइरहेको उहाँले बताउनुभयो । सुविधाकै लागि गाउँ छाडेर हिँडेकाहरूलाई फर्काउन नगरले गाउँ–गाउँमा सुविधा पु¥याउने उहाँले बताउनुभयो । पहिरो प्राकृतिक विपद् भएकाले त्यसको न्यूनीकरणमात्रै गर्न सकिने उहाँको भनाइ छ । विस्थापित र बसाइँसराइसँगै स्थानीय सीप, पूँजी र श्रमशक्तिसमेत बाहिरिने हुँदा बसाइँसराइलाई रोक्नुपर्ने स्थानीयवासीको माग छ ।

बाढीपहिराजस्ता प्राकृतिक विपत्तिबाट जोगाउन राज्यले पहल गर्नुपर्ने, शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच पु¥याउनुपर्ने, रोजगार तथा आम्दानीका स्रोत बढाउनतर्फ ध्यान दिन सके विस्थापित हुने कार्य र बसाइँसराइ गर्नेहरूको सङ्ख्यामा कमी आउने बुझाइ छ ।

तारानाथ आचार्य/रासस