• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

कालो धनलाई सेतो बनाउन गभर्नर माथि हमला: प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्तको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको बताउनु भयो । उहाँले अहिले गभर्नरमाथि बनाइएका बहाना भन्नेकुरा मात्रै रहेको उल्लेख गर्नुभयो । उपमहासचिव ज्ञवालीले आर्थिक हिसावले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको दाबी गर्नुभयो । उहाँले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरि तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताउनु भयो । सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्को खतरनाक स्थिति कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरु भए अहिले गभर्नरमाथिको हमला त्यही त हो । हिजो उहाँहरुले हटाउने प्रयास गर्नुभएकै हो । जम्माजम्मी कारण के ? कसैले ल्यायो ४० करोड रुपैयाँ बाहिरबाट, श्रोत देखाउनुस् भन्यो श्रोत देखाउन सक्दैन । १७÷१८ वटा फेक कम्पनीहरु छन् । अमेरिकामा सोध्दा ती कम्पनीहरु कुनैपनि महत्व छैन । यो श्रोत गलत हो भन्छ, मन्त्रीजीले तोक लगाउनुहुन्छ, त्यो धनलाई तुरुन्त फुकुवा गर्नु । त्यो गर्न नमाने बापत् राष्ट्र बैंकमाथि हमला भएको हो ।

अहिले बनाइएका सबै बहाना भन्ने कुरा मात्रै हुन् । आर्थिक हिसावले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको छ । मैले नै घरमा हरेक पटक एकथरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरी तरकारी पकाउने अवस्था मेरो छैन । मन्त्री पनि भएँ, सांसद पनि छु तर मेरो घरमा दुई थरि तरकारी बनाउने स्थिति छैन भने अरुको के होला ? बनावटी अभाव मलको चर्को छ ।’

उपमहासचिव ज्ञवालीले राज्य डरलाग्दो रुपमा विचौलियाहरुको नियन्त्रणमा जान थालेको बताउनु भयो । उहाँले अहिलेको गठबन्धन सरकाराई राजनीतिक गठबन्धनको रुपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तिय गठबन्धनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप लगाउनु भयो । उपमहासचिव ज्ञवालीले अहिलेको गठबन्धन मुलुकका लागि डरलाग्दो रहेको उल्लेख गर्नुभयो । उहाँले हातहतियार सम्बन्धी सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा उल्लेखित वाक्य र व्यक्तिको दुःशासहसले नै अहिलेको गठबन्धनको तस्बीर देखाउने बताउनु भयो ।

उहाँले भिडियो पुरानै भएको खण्डमा पनि अहिलेको सरकारको अवस्था त्यो भन्दा फरक नरहेको जिकिर गर्नुभयो । उपमहासचिव ज्ञवालीले उक्त भिडियोले नेपालको अहिलेको कुरुप तस्बप्ीर देखाएको बताउनु भयो । उहाँले राज्यले एकथरि उद्योगलाई लाभैलाभ र अर्कोथरिलाई बन्द गर्नुपर्ने अवस्थामा पु-याएको बताउनु भयो । उहाँले अहिले सिंगो अर्थतन्त्र केही मुठीभर व्यक्तिको नियन्त्रणमा जाने खतरनाक स्थिति सिर्जना भएको भन्दै गठबन्धन सरकारको एकवर्षलाई देशको लागि कुशासन र बरबादीको वर्षको रुपमा चित्रण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राज्य एकदमै डरलाग्दो गरेर विचौलियाहरुको नियन्त्रणमा जान थालेको छ । राजनीतिक गठबन्धनप्रति हामीलाई कुनै आपत्ति छैन,माओवादीको काँग्रेसीकरण होस् वा काँग्रेसको माओवादीकरण हाम्रो आपत्तिको कुरा भएन, हामी आफ्नो ढंगले त्यसको सामना गर्नेछौँ । यो राजनीतिक विषय हो । जनता सार्वभौम हुन्, जनताले जे फैसला गर्छन् त्यो हाम्रो निम्ति मञ्जुर छ । तर आज राजनीतिक गठबन्धनको आवरणमा जुन खतरनाक वित्तिय गठबन्धन छ ।

भ्रष्टाचारलाई, कालाबजारीयालाई, कमिसनतन्त्रलाई संरक्षण गर्ने, जुन एउटा खतरनाक वित्तिय गठबन्धन भइरहेको छ, मुलुकका निम्ति असाध्यै डरलाग्दो कुरा हो । अहिले एउटा भिडियो भाइरल छ, ८ वर्ष पुरानो होला तर त्यसले नेपालको अवस्थालाई दर्शाउँछ । एकजना पात्र कसरी सिंगो सरकार सदनका सम्बन्धित समितिहरु खोक्दै जाँदा त उनी नरेन्द्र मोदीलाई समेत आफ्नै हातमा नचाउँछु भनेजस्तो गरिकन यो भन्ने दुःशाहस कसरी हुन्छ । यो नेपालको अहिलेको एउटा कुरुप तस्वीर हो । त्यो ८ वर्ष पहिलाको फ्ल्यासब्याक होला तर त्यो भन्दा फरक अहिले छैन, राज्यले एकथरि उद्योगलाई भन्सार छुट, अन्तःशुल्क दिइरहेको छ, अर्काथरिलाई बजेट आएको डेढ महिना भएको छैन, बन्द गर्नुपर्ने स्थितिमा पु¥याएको छ । सिंगो अर्थतन्त्र केही मुठीभर नियन्त्रणमा जाने खतरनाक स्थिति सिर्जना भएको छ । यो एकवर्ष देशको लागि कुशासन र बरबादीको एक वर्ष हो ।’

उपमहासचिव ज्ञवालीले सरकार विद्युतीय सवारीसाधन मुख्य शहरमा चलाउने कुरामा गैर जिम्मेवार भएर बसिरहेको आरोप लगाउनु भयो । पछिल्लो समय बजारको अनुगमनमा पनि ध्यान नदिएको बताउनु भयो । उहाँले आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माणमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करका दर हेरफेर गरेको र सिसिटिभी फुटेज मेटाएको विषयमा गहिराईमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा एमाले नेता एवं नेकपा एमालेका उपभोक्ता हित संरक्षण तथा सुशासन विभागका अध्यक्ष यज्ञराज सुनुवार पनि उपस्थित रहनुभएको थियो । समितिले पछिल्लो एक वर्षमा देशका प्रमुख आर्थिक सूचकहरुको अवस्था, खाद्य तथा पेय पदार्थमा भएको मूल्यवृद्धिको अवस्था, इन्धनको मूल्यवृद्धिको अवस्था, दैनिक उपभोग्य खाद्य वस्तुको मूल्यवृद्धिको अवस्था, निर्माण सामग्रीको मूल्यवृद्धिको अवस्था र पिछडिएको क्षेत्र कर्णालीको मूल्यवृद्धिको अवस्थाका बारेमा पनि जानकारी गराइएको थियो ।