४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

उत्ताउलो कूटनीतिले साख गिर्दैछ कि देशको ?

उत्ताउलो कूटनीतिले साख गिर्दैछ कि देशको ?
अ+ अ-

अघिल्लो महिना स्टेट पार्टनरसिप प्रोग्राम, एसपिपीका नाममा नेपालको कूटनीति छताछुल्ला पोखियो । अमेरिकी सैन्य रणनीति अर्थात् इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपाली सेनाले प्रवेश गर्यो भन्ने थियो बहसको विषय । अनि यति संवेदनशील बहसको सतहमै थिए राज्यका दुई प्रमुख अंग सरकार र नेपाली सेना ।

वर्तमान सरकार त्यो एसपिपीमा आफूले पत्राचार नगरेको भन्थ्यो भने अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले त्यो कागजमा सही गरेर देशलाई अन्तर्घात गर्यो मात्र भन्थे । संसदमा यो बहसले प्रवेश पायो । नेकपा एमालेले संसद नै अवरुद्ध गर्यो र यसको जवाफ सरकारले दिनुपर्ने माग गर्यो ।

फेरि अर्को तथ्य बाहिर आयो नेपाली सेनाको । त्यस आयोजनाका लागि नेपाली सेनाले पत्राचार गरेको रहेछ । सेनाले स्वीकार पनि गर्यो र त्यसबारेमा स्पष्टिकरण पनि दियो । नेपाली सेनाको भनाई थियो कि– यो इन्डो प्यासिफिकभित्रको सैन्य रणनीति थिएन बरु प्राकृतिक प्रकोप आदि समयमा नेपालललाई सहयोगका लागि आवश्यक समन्वय गर्न गरिएको आवश्यक सहकार्यको आह्वान मात्र थियो ।

नेपाली सेनाका अनुसार सो पत्राचार सेनाले नेपालमा विसं २०७२ मा आएको भूकम्पपछि गरेको थियो र त्यस बेला अमेरिकी सेनाले गरेको सहयोग जस्तै आगामी दिनमा पनि यस्तै समस्या परेका बेलामा गर्ने सहयोगमा यो केन्द्रित थियो ।

विषयवस्तु यतिमात्र थियो तर यसको हल्लाले नेपालको कूटनीतिक संवेदनशीलतालाई नराम्ररी सडकमा ल्याइदिएको थियो । एकले अर्कालाई दोषारोपण मात्र गरिरहेका देखिन्थे वर्तमान सरकारका प्रधानमन्त्री, निवर्तमान सरकारका प्रधानमन्त्री र नेपाली सेना । कूटनीतिमा गोप्य राखिनुपर्ने कैयौँ कुराहरु सडकमा आए र थाहा नपाउनुपर्नेले पनि थाहा पाए । देशभित्रै आन्तरिक कूटनीतिक विवाद तन्कियो ।

यहाँसम्म भयो कि अघिल्लो सरकारका प्रमुख ओलीले त सो पत्र आफ्नै सरकारका पालामा लेखिएको भए पनि नेपाली सेनाले आफूलाई थाहै नदिई लेख्यो सम्म भने । उनको आसय नेपाली सेनाले सरकारको अनुमति बेगर नै यति संवेदनशील पत्राचार विदेशी सेनासँग गर्यो भन्ने थियो ।

करिब ६ महिना अघि पनि नेपालको कूटनीति यसैगरी भद्दा रुपमा नेपालका सडक सडकमा पोखिएको थियो एमसिसीका नाममा । एकथरिले एमसिसी नेपालको विकासका लागि अनिवार्य, अपरिहार्य भनेर बहस गरिरहेका थिए भने अर्काथरि भने यो अमेरिकी परियोजना यति घातक हो कि यो पारित गरेसँगै नेपालको अस्तित्व र सार्वभौमिकता सखापै हुन्छ ।

निकै लामो समयसम्म चल्यो यो बहस । एमसिसीले नेपाललाई गर्ने असरका बोरेमा नेताहरुले दिएका अभिव्यक्तिहरुको अहिले लेखाजोखा गर्ने हो भने लाग्छ यतिखेर हाम्रो देश सकिइसकेको हुनेथियो ।

हाम्रो यो बहसले छिमेकीहरुलाई समेत मुख खोल्न बाध्य बनाइदियो । अमेरिकासँग लिन खोजेको आयोजनाका बारेमा यता चीनले प्रतिक्रिया दिनुपर्ने अवस्था आयो । यहाँसम्म भयो कि अमेरिकाले नेपाललाई कुनै पनि परियोजना दिनका लागि जबर्जस्ती गर्नु हुदैन भन्ने अभिव्यक्ति चीनले नै दियो ।

भारत बोल्न त बोलेन तर यो हाम्रो निरर्थक बहसलाई उसले बडो शुक्ष्म ढंगले अध्ययन चाहिँ गर्यो । यसलाई एक लाजमर्दो कूटनीतिक घटनाका रुपमा लिन सकिन्छ । यो हाम्रो आफ्नो अपरिपक्व कूटनीतिको नमज्जाको प्रस्तुति हो ।

कुनै देशसँग अघिल्ला सरकारहरुले परियोजना लिन्छौँ भनेर सहीछाप गर्ने अनि त्यसपछिका सरकारहरुले त्यसलाई घातक र देशै बरबाद गर्छ भनी देख्ने परिघटनाले हाम्रो कूटनीतिक क्षमताको राम्रैगरी प्रदर्शन गरेको छ ।

हो, देशभित्र आन्तरिक विवादहरु हुन्छन् । राजनीतिक दलहरुको पनि अलग अलग आदर्श र विचारका हुन्छन् त्यो स्वाभाविक पनि हो । हाम्रो नेपालमा पनि विपरीत ध्रुवका राजनीतिक आदर्शहरु भएका राजनीतिक दलहरु छन् । ती दलहरु सरकारमा जाने काममा त मिलेकै देखिन्छन् । मिलेरै सरकारमा बसेका, मन्त्रिमण्डलको बाँडफाँडमा व्यस्त भएका आदि त देखिन्छन् ।

तर कूटनीतिक मामिलामा किन यस्तो असक्षमता प्रदर्शन गर्छन् दलहरु रु आफ्ना घरभित्रका बेमेलहरु, झगडालाई किन बाहिर देखाउनुपर्छ यिनीहरुलाई रु यस्तो उत्ताउलो कूटनीतिले तत्कालका लागि उनीहरुलाई व्यक्तिगत रुपमा त सहयोग नै गर्ला । तर भोलिको नेपाललाई कतिसम्म असर गर्छ भन्ने कुरा उनीहरुलाई थाहा छ कि छैन ?

एक त नेपालले आफ्नै मौलिक शैलीको कूटनीति अत्यावश्यकताको आधारमा सञ्चालन गर्नुपर्नेछ । किनभने हामी एक किसीमले भन्ने हो भने संसारकै शक्ति राष्ट्रको चेपुवामा छौँ । पृथ्वीनारायण शाहले त्यसै भनेका होइनन् नेपाल दुई ढुंगाको तरुल हो भनेर । यस्तो अवस्थाका हामीले बोल्ने बेलामा त बडो तौलेर, शब्द त के अक्षर अक्षर जोखेर बोल्नुपर्ने अवस्थामा छौँ भने झनै बोल्नै नहुने संवेदनशील कुराहरुलाई पनि हामी सडकमै छरपष्ट पारिदिन्छौँ ।

नेपालको परराष्ट्र नीतिलाई त्यसै पञ्चशीलमा आधारित बनाइएको होइन । हामी यो वा त्यो पक्ष वा विपक्षमा उभिनु या बोल्नु हुदैन । हामीले माटो र भूगोल सुहाउँदो परिवेशको परराष्ट्र नीति अंगाल्नुपर्छ । हामी शक्ति राष्ट्रहरुका खेल या चलखेल कतै पनि संलग्न हुनुहुदैन, मौन कूटनीति अपनाउनुपर्छ । नेपालको हरेक विदेश सम्बन्धमा हामीले आफ्नो देशको हित र स्वार्थमात्र हेर्न र देख्न सक्नुपर्छ ।

कुनै नेता या राजनीतिक दलको नभएर राष्ट्रिय स्वार्थमा हाम्रो कूटनीति केन्द्रित हुनुपर्छ । मैले माथि प्रस्तुत गरेका अमेरिकी दुई परियोजनाका त उदाहरण मात्र हुन् । यस्तो अपरिपक्व स्वरुपमा हाम्रो वैदेशिक सम्बन्ध पोखिँदै गयो भने हामीसँग आखिर के रहला र ? किनभने हामी न आर्थिक र नत सैन्य कूटनीतिमा बलिया छौँ ।

हामीले गर्ने त पैसा र सेनाको नभएर अरुलाई प्रभाव पर्ने र हाम्रो राष्ट्रिय स्वार्थको भरण गर्ने कूटनीति होइन र रु सबै नेताहरुले आफ्नो पार्टीबाट माथि उठेर आफ्नो देशको सार्वभौमिकतालाई शिरमा राखेर सोचौँ त ?

-अधिकारी अमेरिका बसोबास गर्नुहुन्छ

यो पनि पढ्नुहोस- के विदेशमा बसेर स्वदेशको चिन्ता लिनु अपराध हो र ?