• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी ★   लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान ★   कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह ★   पितापुर्खाको सीप पछ्याउँदै मह सिकार ★   संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी ★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन ★   पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप ★   गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन

भैरहवा क्षेत्रका उद्योगले मागेजति बिजुली उपलब्ध गराउन संरचना तयार



काठमाडौँ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि बुटवलको योगीकुटीबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेशनबाट मैनहिया सबस्टेशनसम्मको कूल १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधबारदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको जनाएको छ । प्रसारण लाइन निर्माणसँगै करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्ने गरी पूर्वाधार तयार गरिएको छ ।

मैनहियामा १३२/३३/११ केभीको सबस्टेशन निर्माण गरिएको छ । सबस्टेशनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन् । प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगहरूलाई मागेजति विद्युत् दिन सकिने आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो । स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेशनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये चारवटा फिडरको लाइन तानिएको उहाँले उल्लेख गर्नुभयो ।

कूल १८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावर निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई दुई किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/७१ देखि सुरु भएको थियो । मार्ग परिवर्तन, कोभिड–१९ को महामारीलगायत कारणले आयोजना निर्माणमा केही ढिला भएको थियो ।

मैनहिया सबस्टेशनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेशनबाट भारतको उत्तरप्रदेशस्थित सम्पत्तीया (न्यू नौतनुवा) सबस्टेशन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तरप्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकामा मैनहिया–सम्पत्तीयामा संरचना बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज हुने भएको छ ।