• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   बुबाको मार्गदर्शन अनुसार अघि बढ्छु: सांसद नेम्वाङ ★   नटआउट थिए, खुट्टाले दुई पटक बाउन्ड्री छोयो… सामसनको विकेटमा सिद्धुको बयान ★   अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला ★   चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल ★   रणवीर सिंहले दीपिकासँगको विवाहको तस्बिर हटाए ★   सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’-फोटो फिचर ★   सार्वजनिक महत्वका विवरण स्वत: प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका ★   आईपीएलमा लखनउमाथि पहिलो जितको खोजीमा हैदरावाद ★   कोशीमा बजेटको तयारी तिब्र, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी ★   शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

भैरहवा क्षेत्रका उद्योगले मागेजति बिजुली उपलब्ध गराउन संरचना तयार



काठमाडौँ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि बुटवलको योगीकुटीबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेशनबाट मैनहिया सबस्टेशनसम्मको कूल १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधबारदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको जनाएको छ । प्रसारण लाइन निर्माणसँगै करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्ने गरी पूर्वाधार तयार गरिएको छ ।

मैनहियामा १३२/३३/११ केभीको सबस्टेशन निर्माण गरिएको छ । सबस्टेशनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन् । प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगहरूलाई मागेजति विद्युत् दिन सकिने आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो । स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेशनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये चारवटा फिडरको लाइन तानिएको उहाँले उल्लेख गर्नुभयो ।

कूल १८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावर निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई दुई किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/७१ देखि सुरु भएको थियो । मार्ग परिवर्तन, कोभिड–१९ को महामारीलगायत कारणले आयोजना निर्माणमा केही ढिला भएको थियो ।

मैनहिया सबस्टेशनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेशनबाट भारतको उत्तरप्रदेशस्थित सम्पत्तीया (न्यू नौतनुवा) सबस्टेशन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तरप्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकामा मैनहिया–सम्पत्तीयामा संरचना बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज हुने भएको छ ।