१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला

अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला
अ अ+ अ-

खजुरा । अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन् ।

नेपालगञ्ज ल्याइएका तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका बाँके खजुरा–४ की रामदुलारी थारुले बताउनुभयो । उहाँले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि रु २० हजारसम्म आम्दानी गरिरहेको जानकारी दिनुभयो ।

बाँकेको नौबस्तामा घर वरिपरी तरकारी खेती गरिरहेकी वसन्ती थारुले उत्पादित तरकारी एकाबिहानै नेपालगञ्ज ल्याएर बिक्री गर्ने गरेको बताउनुभयो । त्यस्तै, कोहलपुर मैटहवाकी सुनिता चौधरीले घरबाट ताजा तरकारी ल्याएर नेपालगञ्जको पुष्पलाल चोकमा केही समयमै बिक्री हुने गरेको बताउनुभयो ।

बर्दियाको बढैयाताल गाउँपालिका–३ का महिला वडासदस्य दुसानी थारुले दैनिक बर्दियाबाट नेपालगञ्ज अर्गानिक तरकारी ल्याएर बिक्री गर्दै आउनुभएको छ । उहाँले हरेक दिन बिहानै नेपालगञ्जको सडकमा तरकारी बिक्री गर्न थालेको वर्षौँ भइसकेको बताउनुभयो ।

महिला उद्यमीका साथै वडासदस्य समेत रहनुभएकी थारुले वर्षौँदेखि आफूले कृषि पेसा गर्दै आएको बताउनुभयो । “म पहिलादेखि नै कृषि पेसामा आबद्ध थिएँ, विगत १० वर्षदेखि कृषि पेसामा आवद्ध छु । अर्गानिक तरकारी साइकलमा राखेर नेपालगञ्ज ल्याएर बिक्री गर्दै आएकी छु”, उहाँले भन्नुभयो, “स्थानीय चुनावमा महिला सदस्यका रुपमा निर्वाचित भएपछि तरकारी खेती गरेर पनि आत्मनिर्भर बन्न सकिन्छ भनेर महिला दिदीबहिनीलाई सम्झाउने गरेकी छु ।”

आफू जनप्रतिनिधि भए पनि कृषि पेसामा रमाइरहेको भन्दै दुसानीले बिहानभरी नेपालगञ्जमा तरकारी बिक्री गर्ने र दिउँसो घर पुगेपछि जनताका काममा लाग्ने गरेको बताउनुभयो । पहिला साइकलमै राखेर तरकारी बेच्न नेपालगञ्जसम्म आउने गरेकामा अहिले भने गाडीको प्रयोग गर्न थालेको उहाँको भनाइ छ ।

नेपालगञ्जको धम्बोझीस्थित सिटिजन बैंक अगाडि सडकको किनार (सडक पेटी)मा महिलाले तरकारी बजार लगाउने गरेका छन् । सडकमा तरकारी राखेर बेच्दा बिहान ९ बजेपछि नगर प्रहरीले लखेट्ने गरेको दुसानीले गुनासो गर्नुभयो । “यसरी व्यावसायिक रुपमा तरकारी बेच्न थालेको तीन वर्ष भयो । अहिले १५ कठ्ठा जग्गामा विभिन्न तरकारीजन्य वस्तु उत्पादन गर्दै आएकी छु”, उहाँले भन्नुभयो ।

तरकारी बिक्रीबाटै पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको दुसानीले बताउनुभयो । “देशमा केही गर्न सकिन्न भनेर विदेश गएर धेरै नेपाली नागरिकले दु:ख पाएका छन्, मैले यहीँ तरकारीबाटै राम्रै आम्दानी गरिरहेकी छु”, उहाँले भन्नुभयो ।

स्थानीयस्तरमै उत्पादन हुने घरेलु तथा अर्गानिक वस्तुलाई सरकारले प्रवर्द्धन गर्नुपर्ने र बिक्री वितरणका लागि छुट्टै स्थान बनाइदिनुपर्ने उहाँको माग छ । नेपालगन्ज सडकमा दुसानी थारुजस्ता धेरै किसान बाँके र बर्दियाबाट एकाबिहानै तरकारी ल्याएर बिक्रीवितरण गर्दै आएका छन् । रासस