२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर



अ+ अ-

सिमकोट । हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । गाउँपालिकाको सहयोगमा गरिब तथा उपेक्षित कल्याण कार्यक्रमले हालै सार्वजनिक गरेको तथ्याङ्कमा दलित बालबालिका शिक्षाबाट वञ्चित रहेको पाइएको हो ।

सरकारले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई अनिवार्य विद्यालाय पठाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि सिमकोटका ६९२ बालबालिकामध्ये १५ प्रतिशत ९१०६ जना० विद्यालयको पहुँच बाहिर रहेको पाइएको छ । गरिब तथा उपेक्षित कल्याण कार्यक्रमका अध्यक्ष पर्वत सुनारका अनुसार आठ वडा रहेको सिमकोटमा सबैभन्दा बढी वडा नं ६ मा २७ बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् ।

तथ्याङ्क अनुसार वडा नं २ मा २६, ७ मा १७, ४ मा १२, ८ मा १०, ५ मा ८ र वडा नं ३ मा ६ बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन् । सिमकोट गाउँपालिकाभर बालविकास केन्द्रमा १३६, प्राथमिक तहमा २४८, माध्यमिक तहमा १७२ र प्राविधिक शिक्षातर्फ ३० दलित समुदायका विद्यार्थी अध्ययनरत छन् ।

स्नातकोत्तर उत्तिर्ण गर्ने दलितको सङ्ख्या शून्य

सिमकोटका आठवटै वडामा स्नातकोत्तर तह उत्तिर्ण गर्ने दलितको सङ्ख्या शून्य रहेको छ । एक हजार ७७५ जनसङ्ख्या भएको दलित समुदायबाट कोही पनि स्नातकोत्तर तह अध्ययन गरेका छैनन् । पारिवारिक कारण, कमजोर आर्थिक अवस्थालगायत कारणले दलित समुदायको पहुँच उच्च शिक्षा अध्ययनमा नरहेको पाइएको छ ।

तीन सय ५५ दलित परिवार रहेको सिमकोट गाउँपालिकामा स्नातक तहसम्मको अध्ययन गर्ने तीन जना मात्रै छन् । उनीहरु वडा नं ५, ६ र ७ का एक एक जना रहेका छन् । सिमकोट–८ बाट एसइई उत्तिर्ण ४९ र कक्षा १२ सम्म अध्ययन गर्ने १२ जना मात्रै रहेका छन् ।

“दलित समुदायलाई आर्थिक अवस्थाले निकै सताएको छ, छाक टार्नकै निम्ति बालबालिका बाहेक अन्य घर बाहिर छन्”, गरिब तथा उपेक्षित कल्याण कार्यक्रमका अध्यक्ष सुनारले भन्नुभयो । अभिभावक घरमा नहुँदा बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहन बाध्य भएको तथ्याङ्कबाट खुलेको छ । बालबालिका पशु चराउन र भाइबहिनीको हेरचाहमा जुट्नुपर्ने कारणले दलित समुदायका बालबालिका विद्यालय जान सकेका छैनन् ।