• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक– भिडियोसहित ★   एस्ट्राजेनेकाको कोरोना भ्याक्सिनबाट हृदयाघातको जोखिम हुने दाबी ★   सरकारको आधिकारिक अनलाइन मिडिया छैन: सञ्चारमन्त्री शर्मा ★   समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन ★   कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन: ओली ★   दीपकको व्यंग्यः संगठन बलियो भएको ठाउँमा पार्टीले जित्छ, फ्रस्ट्रेसन भएको ठाउँमा घण्टी ★   मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. गौतम र पुर्वान्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. थपलिया नियुक्त ★   विदेश पठाइदिन्छु भन्दै ४२२ जनालाई ठगि गर्ने गिरोह पक्राउ ★   च्याम्पियन्स लिगमा बायर्न र रियल भिड्दै ★   तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

तनहुँमा मल अभाव कायमै, २० प्रतिशत रोपाइँ



दमौली । मल अभावकाबीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् ।

असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ । जिल्लामा हालसम्म करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जिल्लाका विभिन्न भागमा किसान रोपाइँमा व्यस्त रहेको र करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको जानकारी दिनुभयो ।

तिवारीले रासायनिक मल अभाव भए पनि प्राङ्गारिक मलको प्रयोग गरी मल अभावलाई पूर्ति गर्न सुझाव दिनुभयो । “मल अभाव हुँदा उत्पादन घट्न सक्छ, रासायनिक मलको अभावलाई पूर्ति गर्न गोबर मल, प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो । धान रोपाइँ सकिएको करिब एक महिनापछि सुक्ष्म खाद्यतत्व प्रयोग गर्न तिवारीले किसानलाई सुझाव दिनुभयो ।

व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेलले छिट्टै वर्षा भएकाले रोपाइँ गर्न सहज भएको बताउनुभयो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ११ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । त्यसमध्ये दुई हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधानको रोपाइँ हुने गरेको छ । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायत धानखेती हुने गरेको छ । गतवर्ष ११ हजार २७९ हेक्टर खेतमा धान खेती गरिएकामा ४४ हजार सात ८२ मेट्रिकटन धान उत्पादन भएको थियो ।

तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको तर ५१ हजार ५१० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् ।

मल अभाव कायमै

खेतीपातीको समयमा मल अभाव हुँदा किसानलाई समस्या भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड दमौलीका अनुसार हाल पोटास मल मात्रै मौज्दात छ । युरिया, डिएपी, कृषि चुन मल अभाव रहेको शाखाले जनाएको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म एक हजार एक मेट्रिक टन मल वितरण गरेको जनाएको छ । चालु आर्थिक वर्षमा ६२४.४ मेट्रिक टन युरिया मल आएकामा सबै मल बिक्री वितरण भएको छ । ३२४.३५ मेट्रिक टन डिएपी र पाँच मेट्रिक टन कृषि चुन मल आएकामा त्यो पनि सबै बिक्री वितरण भएको शाखाले जनाएको छ । कार्यालयमा सुरुमा १४१.४ मेट्रिक टक युरिया रहेकामा पछि ४८३ मेट्रिक टन प्राप्त भएको थियो । त्यस्तै ११७.३५ मेट्रिक टन डिएपी रहेकामा पछि २०७ मेट्रिक टन प्राप्त भई सबै मल बिक्री वितरण भएको छ ।