• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

सहकार्यसहित रणनीतिक योजनाका साथ अगाडि बढ्नुपर्छ: नेता खनाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी ध्रुवको विकास गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । पार्टीको चौथो केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै नेता खनालले आफ्नो पार्टीप्रति क्रान्तिकारी तथा इमान्दार कार्यकर्ताको आकर्षण बढेकाले एकीकृत समाजवादीको नेतृत्वमा धार निर्माण गरेर मात्र समाजवादमा पुग्न सकिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले लेनिनको क्रान्तिकारी विचारले भएको क्रान्ति विश्व परिवेशलाई तरङ्गित बनाएको बताउँदै समाजवादी क्रान्तिको बाहक ध्रुवका रूपमा बलियो पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो । यो गठबन्धन समाजवादी क्रान्तिसम्म नपुग्ने बताउँदै उहाँले भन्नुभयो, “मोर्चाबन्दी गर्दा समान विचारबीचमा गर्नुपर्छ । हाम्रोजस्तो देशमा बहुआयामिक वर्गसङ्घर्ष गर्नुपर्ने बेला आएको छ । किसान, महिला, गरिब आदिका विरुद्ध भएका अन्याय, अत्याचारका विरुद्ध सङ्घर्ष गर्नुपर्ने छ । चुनावदेखि चुनावसम्म होइन, संसद्मा पनि जनताका आवाज उठाउनुपर्छ, अनि मात्र क्रान्तिकारी संसदवादी भइन्छ ।”

तत्कालीन नेकपाको दुईतिहाइको सरकार नभई एउटा गुटको नायकको पक्षपोषण गर्ने सरकार चलाएका कारण सरकारको अन्त्य भएको बताउँदै उहाँले तत्कालीन सरकारले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी कामसमेत कटौती गर्ने हदसम्मको काम गर्न खोजेको आरोप लगाउनुभयो ।

नेता खनालले नीति, विचार र सिद्धान्तका कुरा एकातिर थन्क्याएर पार्टीका मूल्य, मान्यता, दृष्टिकोण मिच्ने काम गरेको र दक्षिणपन्थीको मतियार भएका कारण बिद्रोह गर्नुपरेको बताउँदै भन्नुभयो, “ओलीले जो बालुवाटारप्रति बफादार छ, उसैलाई मात्र च्याप्ने काम गरे ।” केपी ओली नेतृत्वको सरकारले चार–चारपटक बजेट ल्याउँदासमेत पार्टीलाई जानकारी नगराएको स्मरण गर्दै उहाँले भन्नुभयोे, “त्यतिखेरको प्रतिपक्षी पनि निदाएको थियो । कतिपय नेता त संसद्मै देखिँदैनथे । यस्तो अवस्थामा पनि सहयोग पाइनँ भन्नु पागल–प्रलाप मात्रै थियो । हामी जतिसुकै प्रगतिशील कानुन र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौँ ।”

नवौँ महाधिवेसनमा पार्टीमा दुर्भाग्यपूर्ण परिस्थिति निर्माण भएको बताउँदै उहाँले भन्नुभयो, “वैचारिक, राजनीतिकरूपमा दक्षिणपन्थी, प्रतिगामी, फुटवादी, गुटवादीका कारण पार्टीमा विद्रोह गर्नुप¥यो ।” मुलुकको स्थायित्वका लागि गठबन्धन गरेको उल्लेख गर्दै उहाँले भन्नुभयोे, “कमसेकम हामीले मुलुकको संविधानको रक्षा गरेका हौँ ।” नेता खनालले स्थानीय तह निर्वाचनमा हाम्रा लागि पूर्णरूपले फलदायी नभएकाले आगामी निर्वाचनमा आवश्यकताअनुसार कुनै पनि शक्तिसँग सहकार्य गर्ने रणनीतिक योजनाका साथ अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।