• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

चिनी अभाव नहुने



काठमाडौँ । पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै रु २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ ।

चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक सङ्घ, साल्टट्रेडिङ कर्पोरेशन तथा नेपाल खुद्रा व्यवसायी सङ्घका प्रतिनिधिसँग बिहीबार छलफल गरेको हो । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले चिनीको मूूल्यको विषयमा विभिन्न निकायका प्रतिनिधिसँग विभागमा छलफल गरिएको जानकारी दिनुभयो । चिनी उत्पादकले उत्पादन लागत बढ्दा चिनीको मूल्य बढेको भन्दै भारतीय प्रतिबन्धले मूल्यमा कुनै असर नगरेको बताएको उहाँले जानकारी दिनुभयो ।

छलफलमा चिनी उत्पादक सङ्घका उपाध्यक्ष राजकुमार अग्रवालले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर ढुवानीमा परेको जानकारी गराउनुभएको महानिर्देशक शर्माले बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर चिनी उत्पादनदेखि ढुवानीसम्म परेको भन्दै त्यसको कारण चिनीको मूल्य बढेको सङ्घले जनाएको छ । सङ्घले उद्योगबाटै प्रतिकिलो रु ९३।८३ मा चिनी बिक्री गर्ने गरेको छ ।

“उद्योगमै चिनीको मूल्य बढेको छ, उद्योग हुँदै होलसेल तथा खुद्रा पसलमा चिनी पुग्दा मूल्य बढी हाल्छ, अहिले चिनीको मूल्य बढ्नु स्वभाविक हो”, उहाँले भन्नुभयो ।

भारतले जुन १ तारिखदेखि चिनी निर्यातमा रोक लगाएको थियो । भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपालमा चिनी उद्योगी तथा व्यवसायीले किलोमै रु २० बढाएका छन् । यसअघि प्रतिकिलो रु ९० मा पाइने चिनी भारतको प्रतिबन्धपश्चात रु ११० पुगेको छ ।

चिनीको अभाव हुँदैनः सङ्घ

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपाली बजारमा चिनीको अभाव नहुने चिनी उत्पादक सङ्घले जनाएको छ । चिनी उद्योगी तथा व्यवसायीसँग पर्याप्त मात्रामा चिनी मौज्दात रहेको सङ्घको जनाएकोे छ ।

चिनी उत्पादक सङ्घको तथ्याङ्कानुसार नेपालमा वार्षिक दुई लाख ७५ हजार मेट्रिक टन चिनीको माग रहेकामा आधा नेपालकै उत्पादनले पुग्दै आएको छ । नेपालमा १० चिनी उद्योगले चिनी उत्पादन गर्दै आएका छन् । स्वदेशी उद्योगले मात्रै वार्षिक एक लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन गर्ने गरेकाले भारतले निर्यातामा रोक लगाउँदा नेपालमा खासै असर नपर्ने सङ्घले जनाएको छ ।

सङ्घको तथ्याङ्कानुसार चालु आर्थिक वर्षमा मात्रै नेपालका चिनी उद्योगले तीन लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन गरेका छन् । स्वदेशी चिनी उत्पादनसँगै चालु आर्थिक वर्षको १० महिनामा नेपालले विभिन्न देशबाट रु चार अर्ब ८३ करोडभन्दा बढीको चिनी आयात गरेको छ ।