२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरीले कैलालीको केरा खेतीमा क्षति, किसान चिन्तित



अ+ अ-

भजनी । कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गर्नुभएको छ । चार वर्षदेखि केरा व्यवसाय गर्दै आउनु भएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ ।

उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछी शङ्कर निकै चिन्तित हुनुहुन्छ । जग्गा भाडामा लिएर केरा खेती गर्दै आउनुभएका उहाँ हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमासमेत जान सक्नुभएको छैन ।

बैंकबाट ऋृण निकालेर व्यवसाय गर्नुभएका शङ्करले हावाहुरीले व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना गरेको बताउनुभयो । “एक हजार २०० भन्दाबढी केराका बोट कामै नलाग्ने गरी ढलेका छन्, त्यसमा पनि अधिकांश केरा घारी दिइसकेका थिए”, शङ्करले भन्नुभयो, “बारीमा गयो भने रुन मन लाग्छ, यसपालि त उत्पादन राम्रो होला भन्ने आशा थियो तर, त्यो आशा एकै दिनको हावाहुरीले उडाएर लग्यो ।” उहाँले कहिले दैवीप्रकोप त कहिले बजारीकरणका कारण मार खेप्दै आएको बताउँदै यस्तै घटनाले काम गर्ने उत्साह मर्ने गरेको बताउनुभयो ।

यस्तै टीकापुरकै दिनेश सुनारले यस वर्षबाटै केरा खेती सुरु गर्नुभएको छ । तीन बिघा क्षेत्रमा केरा खेती गर्नुभएका दिनेशले पहिलो बालीसमेत भित्र्याउन नसक्ने हुनुभएको छ । पहिलो उत्पादन दिइरहेको केरा हावाहुरीसँगै ढलेपछि दिनेशलाई पनि निकै पीडाबोध भएको छ । “एक महिनामा बजारका लागि तयार हुने केरा सबै हावाहुरीले सखाप पार्यो, पहिलो उत्पादनबाट जग्गाको भाडा र बैंकको केही ऋृण कम गर्ने योजना थियो, सबै योजना चौपट्ट बनायो”, दिनेशले भन्नुभयो, “कसरी जग्गाको भाडा तिर्ने अनि बैंकको ऋृण !”

दिनेशले केराको बीमा गर्नुभएको छ । बीमाका लागि कागजात बनाउनै समस्या हुने भएपछि त्यसको औचित्य नभएको बताउँदै दिनेशले बीमाले उपलब्ध गराउने क्षतिको रकमभन्दा बढी कागजात बनाउनमै जाने भएकोले त्यसमा लाग्नु झन्झट भएको बताउनुभयो । उहाँले किसानले बीमा बैंकको ऋृणको लागि मात्रै गर्ने गरेको बताउनुभयो ।

टीकापुरकै विनोद शाहले २०५८ सालदेखि केराखेती गर्दै आउनुभएको छ । उहाँले अहिले पनि ५५ बिघा क्षेत्रफलमा केराखेती गरिराख्नुभएको छ । टीकापुरमा व्यावसायिक केराखेती सिकाउने व्यक्तिमध्येको एक विनोदको दुई हजार ५०० भन्दा बढी केराका बोट हावाहुरीका कारण नष्ट भएका छन् ।

“मेरो केरा सानै भएका कारणले धेरै क्षति भएको छैन, जुन घारी तयार भएका थिए ती सबै ढलेका छन्”, विनोदले भन्नुभयो, “अरु किसानको हेर्दा यसलाई मैले सामान्य लिएको छु तर, कतिपय किसानको ६० देखि ८० प्रतिशत केरा खेतीमा क्षति पुगेको देखिन्छ ।”

केरा व्यवसायी टेकेन्द्र धामीलाई हावाहुरीले केराका बोट नष्ट गरेकोभन्दा बढी चिन्ता केराको बेर्ना नष्ट गरेकोमा बढी चिन्ता भएको छ । १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका टेकेन्द्रले केही वर्षदेखि केराको बेर्ना उत्पादनलाई महत्व दिँदै आउनुभएको छ । उहाँले ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन गर्दै आउनु भएको हो । तर, शनिबारको हावाहुरीले केराको बेर्ना उत्पादन गरेको टनेल उडाउँदा केराको बेर्ना नष्ट हुने चिन्ता बढेको टेकेन्द्रले बताउनुभयो ।

“मैले दुई लाखभन्दा बढी बेर्ना उत्पादन गरेको थिए, अहिले पनि मसँग डेढ लाख बेर्ना छन्, हावाहुरीले टनेल उडाएपछि बेर्ना घामबाट जोगाउन निकै मुस्किल भएको छ” टेकेन्द्रले भन्नुभयो, “आजसम्म मैले टनेल बनाउन सकिनँ भने मैले एउटा केराको बेर्ना पनि जोगाउन सक्ने अवस्था नरहँदा मलाई लाखौंको क्षति पुग्छ ।” उहाँले १२ बिघा क्षेत्रमा लगाएको केरा खेतीमा ६० देखि ७० प्रतिशत क्षति भएको बताउनुभयो ।

टीकापुर क्षेत्रमा मात्रै हावाहुरीका कारण करिव एक सय बिघा क्षेत्रमा लगाएको केरा पूर्णरुपमा नष्ट भएको अनुमान गरिएको छ । अहिले टीकापुरमा व्यावसायिक रुपमा केरा खेती गर्दै आएका तीन सयभन्दा बढी किसान छन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले वार्षिक करोडौं रकम केरा व्यवसायीका लागि अनुदानमा खर्च गर्दै आएको छ । टीकापुरलाई केराको पकेट क्षेत्रको रुपमा हेर्ने गरिन्छ ।

उक्त सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख गोविन्दराज जोशीले हावाहुरीका कारण केरा खेतीमा भएको क्षतिको अनुगमन भइरहेको बताउनुभएको छ । उहाँले अनुगमनपछि मात्रै केराको क्षतिबारे एकीन गर्न सकिने बताउँदै अनुगमनमा देखिएको अवस्थालाई प्रतिवेदनको रुमपा मातहतको मन्त्रालयमा पठाइने बताउनुभयो ।

“किसानको भनाइअनुसार करोडौंको क्षति भएको भन्ने छ, हामी अनुगमन गर्दैछौँ, अनुगमनपछि क्षतिबारे थाहा हुन्छ”, प्रमुख जोशीले भन्नुभयो, “त्यसपछि राहतको लागि मन्त्रालयलाई पत्राचार गर्ने र केराको बीमा गरेको किसानलाई बीमा कम्पनीसँग समन्वय गरेर क्षतिपूर्ति दिलाउने काममा समन्वय गर्नेछौँ ।” रासस