२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

समस्याको चक्रब्यूहबाट बाहिर निस्केर अघि बढ्दै राहुघाट



अ+ अ-

काठमाडौँ । निर्माण व्यवसायीको लापरवाही, अनेकन हण्डर ठक्कर व्यहोरेको म्याग्दीमा आयोजनास्थल रहेको एक जलविद्युत् आयोजनाले अहिले भने उल्लेख्य मात्रामा गति लिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अधिकांश रुग्ण आयोजना निर्माण सम्पन्न भए पनि बाँकी रहेको राहुघाट जलविद्युत् आयोजना भने अनेक आरोह–अवरोह पार गर्दै बल्ल गति लिने अवस्थामा पुगेको हो । कूल ४० मेगावाट क्षमताको सो आयोजना निर्माणले गति लिएको जनाइएको छ ।

लगानी बोर्डको सोमबार बसेको बैठकले सो आयोजनाको लगानीसमेत स्वीकृत गरेको छ । बोर्डका प्रवक्ता अमृत लम्सालका अनुसार राहुघाट जलविद्युत् आयोजनाका लागि रु नौ अर्ब ४७ करोड ३० लाख बराबरको लगानी स्वीकृत गरिएको हो । रु पाँच अर्ब माथिको लगानी बोर्डले स्वीकृत गर्नुपर्ने बन्दोबस्तीअनुसार राहुघाटको हकमा पनि निर्णय भएको हो ।

शुरुमा प्राधिकरण आफँैले निर्माण गरेको सो आयोजना पछिल्लो पटक भने कम्पनी मोडलमा अगाडि बढाइएको छ । आयोजनाको क्षमतासमेत बढाएर ४० मेगावाट पु¥याइएको हो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको यो आयोजना म्याग्दीको रघुगङ्गा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा बाँध, सुरुङ र विद्युतगृहलगायतका संरचना धमाधम निर्माण भइरहेका छन् ।

रघुगङ्गा–४ दग्नाम र वडा नं ५ झिँको सिमानामा पछिल्लो पटक बाँध निर्माण शुरु गरिएको छ । आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार ‘राइट ब्याङ्क एक्साभेसन’ निर्माण भएको, ‘लेफ्ट ब्याङ्क एक्साभेसन’सँगै बाँधको निर्माण थालिएको छ ।

“बाँधको फाउण्डेशन बनाएर पिसिसी ढलान थालिएको छ”, उहाँले भन्नुभयो, “अर्धजलाशययुक्त ९पिआरओआर० प्रविधिको बाँध निर्माण गर्न लागिएको हो ।” त्यसबाट बढी बिजुली आवश्यक पर्ने साँझ बिहानको समयमा पूर्णक्षमतामा नै आयोजना चलाउन सकिन्छ ।

बाँधको बायाँतर्फ एक्साभेसन बनाएर दायाँतर्फ एक्साभेसन गर्न थालिएको आयोजना प्रमुख विष्टले बताउनुभयो । उहाँका अनुसार हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत छ । कूल छ किलोमिटर २७० मिटर मध्य तीन किलोमिटर सुरुङ निर्माण सकिएको छ । बाँध निर्माण स्थलमा अडिट १, अधेरीखोलामा अडिट २, पिप्लेमा अडिट ३ र तिल्केनी चौरमा अडिट नं ४ खन्नेकार्य सम्पन्न गरी ती अडिटबाट सुरुङ खन्नेकार्य अगाडि बढेको छ ।

पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । कूल एक हजार ५० मिटर मध्य ६४० मिटर पेनस्टक निर्माण सम्पन्न भएको छ । सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्यलाई एकैसाथ तिव्रता दिएको छ । प्राधिकरणको शत प्रतिशत शेयर लगानीमा विसं २०७३ मा स्थापना भएको रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रर्वधक रहेर राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

कूल ४५ महिनाको ठेक्का अवधीको म्याद सकिएपछि हालै साढे दुई वर्ष म्याद थप भएको आयोजना प्रमुख विष्टले जानकारी दिनुभयो । इलेक्ट्रोमेकानीकलतर्फ २०७६ कात्तिकमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग ठेक्का सम्झौता भएको थियो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदारसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो ।

सिभिल ठेकेदारले बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगङ्गा गाउँपालिका–३ को तिल्केनीचौरमा फाउण्डेशन खनेर विद्युतगृहको टर्वाइन रहने तहसम्म ढलान गरेको छ । पावरहाउसदेखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भएको छ ।

स्थानीय बुग्लस्थित रघुगङ्गा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण सम्पन्न भई विद्युतगृह र बाँधलाई सिधा सडक मार्गले जोडेको छ । यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ । सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

कूल एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड ९भेल० ले पनि गत पुस महिनादेखि काम शुरु गरेको रघुगङ्गा हाइड्रोपावरका प्रवन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो ।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा जोडिने छ । त्यसका लागि चार वटा टावर र प्रसारण लाइन निर्माण सम्पन्न भइसकेका छन् ।

राहुघाट जलविद्युत् आयोजनाले निर्माण गरेको पहुँचमार्ग र पुलबाट बाट प्रभावित क्षेत्रका बासिन्दालाई पनि सुविधा पुगेको छ । म्याग्दीमा अन्य एक दर्जन जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन् । त्यसले त्यहाँको ग्रामीण जनजीवनमा सुधारका अलावा स्थानीयस्तरमै रोजगारीसमेत प्रदान गरेको छ । रासस