२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकेसम्म आजै नत्र भोलिसम्ममा मन्त्रीहरुको सपथ हुन्छः मेटमणि चौधरी



अ+ अ-

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस हुनुभएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताउनुभएको हो । उहाँले बुधबार(आज) नै सपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताउनुभयो ।

उहाँले जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको सपथग्रहण रोकिएको बताउनुभयो । सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘पार्टीले निर्णय ग¥यो । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर आज हामी पाँच दलिय गठबन्धन भित्रकै एउटा दल हो । एउटा पार्टी हो । हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरी जसपाका साथीहरुले केही दिन हामीलाई पनि पार्टी भित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि केही समय केहीदिन ढिला मात्रै भएको हो । मन्त्री त सम्भवत्ः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने सपथग्रहण भोली पक्कै हुन्छ ।’

उहाँले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्रि हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक सपथ गराउनका लागि सपथ ग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत हुनुभएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘एकदमै पाको काम हो । पार्टीले गर्ने भनेको यही हो । संस्थागत गर्ने निर्णय नै हो । अब त्यसपछि अरु पार्टी माओवादीभित्र पनि प्रेसर छ । कांग्रेसभित्र पनि प्रेसर छ । सबैले एकैपटक गरौँ भनेपछि ल दुई दिनभित्र टुंगिन्छ भनेपछि ठिकै छ नि त भनेर हाम्रो अध्यक्षले गर्नुभयो । यसलाई अपरिपक्व निर्णय भन्न मिल्दैन । सकभर आज नभए भोली ग्यारेन्टी हुन्छ ।’

उहाँले मन्त्रिपरिषद् हेरफेर गर्ने नेकपा(एकीकृत समाजवादी)को निर्णयलाई अपरिपक्व भन्न नमिल्ने बताउनुभयो ।