१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

टिआइएमा किन भइरहन्छ बारम्बार हवाई ट्राफिक जाम ?

टिआइएमा किन भइरहन्छ बारम्बार हवाई ट्राफिक जाम ?
अ अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) देशको पुरानो ऐतिहासिक विमानस्थल हो । टिआइए सञ्चालनमा आएको करिब ७० वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ ।

मुलुकभित्र तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् । करिब २८ वर्षदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बहस पनि जारी छ । तर देशको राजधानीमा रहेको पुरानो ऐतिहासिक टिआइए पूर्ण क्षमतामा सञ्चालन हुँदा पनि हवाई यात्रुको चाप धान्न हम्मेसी छ । भूधरातलीय स्वरुप, मनसुनी प्रभाव तथा एयरलाइन्सको स्लट व्वस्थापन प्रभावकारी नहुँदा टिआइएमा बारम्बार हवाई ट्राफिक जाम हुने गरेको पाइएको छ ।

अन्तर्राष्ट्रिय उडान डेढ घण्टासम्म आकाशमा फन्को लगाउने ‘होल्ड’ हुने गरेका छन् । अन्तर्राष्ट्रिय मात्र हैन आन्तरिक उडानमा पनि बेलाबेलामा होल्ड तथा जहाज अन्यन्त्र मोडिनु ‘डाइभर्ड’ हुने गरेका छन् । त्यसो त टिआइएमा बारम्बार दोहोरिने यो समस्या समाधानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण, टिआइए नागरिक उड्डयन कार्यालय तथा सञ्चालित एयरलाइन्सले पहल नगरेका भने हैनन् । तर, टिआइएको समस्या जहाँ को तहीँ छ । सरोकारवाला विज्ञ विमानस्थल साँघुरो भएकाले विस्तार गर्ने योजना कार्यक्रम अघि बढाइरहेका छन् ।

कूल ९२ लाख यात्रु क्षमताको टिआइएको क्षमता अभिवृद्धि र एयर ट्राफिक कन्ट्रोल र स्लट व्यवस्थापनमा जुटिरहेकै देखिन्छ । तथापि, टिआइएमा जहाज होल्ड हुने र उडान समयावधि तलमाथि हुने समस्या निदान हुन सकेको छैन । अहिले हवाई ट्राफिक जामले जहाज होल्ड हुनाका साथै डाइभर्ड गर्नुपर्ने विमानस्थलको बाध्यता छ । यसमा विशेषगरी हवाई यात्रुले त्रसित र जोखिमपूर्ण हवाई यात्रा गर्नुपर्ने बाध्यता बढेको छ ।

किन टिआइएमा बारम्बार हवाई ट्राफिक जाम हुनेबारे प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम विशेषगरी मौसम र स्लट व्यवस्थापन प्रभावकारी हुन नसक्दा एयर ट्राफिक जाम हुने गरेको अनुभव सुनाउनु हुन्छ । “कहिलेकाहीँ डेढ घण्टासम्म हामी आफैँ पनि एयर ट्राफिक जाममा परेको अनुभव छ, मौसमी कारण हो भिजिबिलिटी कमजोर हुँदा जहाज अवतरण उडानमा समस्या हुने गर्दछ ।”

मनसुनको समयमा टिआइएमा बढी जहाज होल्ड हुने गरेका छन् । विदेशी एयरलाइन्स पनि सहज समयमा मात्रै उडान भर्न चाहने अर्थात् दिउँसोको समय उनीहरुको रोजाइ पर्ने भएकाले पनि स्लट व्यवस्थापनमा चुनौती देखिएको पूर्वमहानिर्देशक गौतमको भनाइ छ । आन्तरिक उडानमा पनि एयरलाइन्स प्रायः एकै समयमा स्लट लिने भएकाले उडान चाप हुने बताइन्छ । प्राधिकरणले टिआइए २४ घण्टा र आन्तरिक उडान १८ घण्टा अर्थात् आन्तरिक उडान पनि बिहान ५ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

टिआइएको हालको दुवैतर्फको टर्मिनल भवन साँघुरो रहेको र कतिपय प्राविधिक उपकरण व्यवस्थापन हुन नसक्दा पनि हवाई उडान व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको छ । वायुसेवा सञ्चालक सङ्घ नेपालका प्रवक्ता योगराज कँडेल शर्मा पनि मौसम खराबीका साथै स्लट व्यवस्थापन राम्रो नभएकाले हवाई ट्राफिक जाम बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विमानस्थलको स्लट क्यापासिटी कम छ, जहाज थपिइरहेका छन् तर विमानस्थल विस्तार भएको छैन, एक मात्रै धावनमार्गमा सबै जहाज एक समय उडान भर्न चाहन्छन् यसले पनि चाप बढेको देखिन्छ ।” मौसमी कारण पनि उडान तालिकाअनुरुप जहाज नउड्दा हवाई चाप बढाएको छ ।

त्यस्तै आइएफआर भिजिबिलिटीको मापदण्डअनुरुप एयरलाइन्सले उडान गर्ने भएकाले पनि ट्राफिक जाम हुने गरेको छ । क्षणभरमै मौसम परिवर्तन हुने भौगोलिक अवस्थितिले पनि जहाज होल्ड हुनुपर्ने बाध्यता थपिएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि समय समयमा होल्ड हुने गरेका छन् । उहाँको अनुभवमा पछिल्लो साता पोखरा, भैरहवालगायत गन्तव्यबाट काठमाडौँ आउने जहाज ४५ मिनेटदेखि १ घण्टा ट्राफिक जाममा परेका थिए । आन्तरिक जहाज पनि आइएफआर उडानमा गएपछि स्वाभाविक रुपमा जाममा पर्ने गर्छन् ।

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमको भनाइमा एक जहाज होल्ड हुनासाथ त्यसले आउँदै गरेका सबैजसो जहाज होल्ड हुन्छन् । जसले उडानको तयारीमा रहेका जहाजलाई पनि असर गर्छ । सोही कारण उडान ‘डिले’ हुने गरेको छ । एकमात्रै धावनमार्गमा प्यारालल ट्याक्सी वे पूर्ण नभएको तथा जहाजको सङ्ख्या बढिरहेकाले पनि हवाई ट्राफिक जाम हुने गरेको एयरलाइन्सहरुको बुझाइ छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा टिआइएमा दोस्रो टर्मिलन भवन बनाउने योजना समेटेको छ । विमानस्थलको क्षमता विस्तारका लागि विभिन्न आयोजना पनि सञ्चालन भइरहेका छन् । भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आउँदा हालको टिआइएको चाप व्यवस्थापन हुने भनिए पनि वार्षिक हवाई यात्रुवृद्धि दर हेर्दा हालको पूर्वाधारले नधान्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बताउनुहुन्छ । उहाँले कूल ९२ लाख यात्रु क्षमताको टिआइएको ‘अकुपेन्सी फुल’ भइसकेको छ ।

नेपालको हवाई यात्रु सङ्ख्या हरेक वर्ष १० लाखका दरले बढिरहेको छ । ‘एयर ट्राफिक ग्रोथ’ वार्षिक १० प्रतिशतको छ । एसिया प्रशान्त क्षेत्र तथा छिमेकी मुलुक भारत र चीनको हवाई यात्रु सङ्ख्या पनि १० प्रतिशत हाराहारीको वृद्धि छ ।

अबका २० वर्षमा संसारको हवाई यात्रु सङ्ख्या हालको चार अर्बबाट दोब्बर वृद्धि भई आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । “नेपालले वार्षिक तीन करोड हवाई यात्रु धान्नुपर्ने बाध्यात्मक अवस्था छ, अर्को विमानस्थल बनाउन सकेनौँ भने अब हाम्रो आकास बन्द हुने अवस्थामा छ,”, महानिर्देशक अधिकारीले भन्नुभयो ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० एयरलाइन्स तथा अन्तराष्ट्रिय उडानमा दुई नेपालीसहित २४ वटा एयरलाइन्सले उडान भर्दै आएका छन् । – सिबी अधिकारी