• ८ असार २०८१, शनिबार
  •      Sat Jun 22 2024
  •   Unicode
Logo
Latest
★   मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन – प्रधानमन्त्री दाहाल ★   भारतीय टोलीका ब्याट्सम्यानको प्रदर्शनबाट सन्तुष्ट छैनन् प्रशिक्षक ★   इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो ★   स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा – उपप्रधानमन्त्री श्रेष्ठ ★   युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण ★   बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने ★   नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट ★   जङ्गली हात्तीको दारासहित तीन पक्राउ ★   तनहुँमा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु ★   प्रहरीद्वारा एक करोडको सामान बरामद

म्याग्दीमा धार्मिक वन हस्तान्तरण



म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो । १.०६५ हेक्टर क्षेत्रफलमा फैलिएको वन आइतबार समुदायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय, म्याग्दीले जनाएको छ ।

कार्यालय प्रमुख मनोज रानाभाटले विश्व वातावरण दिवसको अवसरमा औपचारिक रुपमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । “नापचाँज, क्षेत्रफल पहिचान, विधान, कार्ययोजना र समूह दर्तालगायत सबै प्रक्रिया पूरा गरेर हस्तान्तरण गरेका हौँ”, उहाँले भन्नुभयो, “वन विकास, जैविक विविधता र वातावरण संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले धार्मिक वन बनाएका हौ ।”

प्राचीन कालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको कैलाशफाँटमा शिव मन्दिर रहेको छ । म्याग्दी नदी किनारको शिव मन्दिर परिसरको बगर र सार्वजनिक जग्गा संरक्षण गरेर वृक्षरोपण गरेर वन बनाइएको समूहका अध्यक्ष छविलाल कँडेलले बताउनुभयो ।

वातावरण दिवसको अवसरमा वनमा १०८ पीपलका बिरुवा रोपिएको छ । घेराबार र संरक्षणका लागि डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा रु तीन लाख सहयोग गरेको छ । एकै ठाउँमा १०८ वटा पीपलको बिरुवा भएको ठाउँमा पूजाआजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।

यसअघि स्थानीयवासी १०८ पीपलको पूजा गर्न बागलुङको बलेवा पुग्ने गरेका थिए । कैलाशफाँट धार्मिक वन जिल्लाको दोस्रो हो । यसअघि बेनी नगरपालिका–३ भकिम्लीमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको थियो । म्याग्दी जिल्लाभर ३१८ सामुदायिक वन उपभोक्तालाई हस्तान्तरण गरिएको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो ।