२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा इमान्दारिता भएनः अध्यक्ष डा भट्टराई



बाबुराम भट्टराइ ( फाइल फोटो)
अ+ अ-

गोरखा । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताउनुभएको छ ।

जिल्लाको चुनावी समीक्षा गर्न आज यहाँ आउनुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै निर्वाचनमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कारण भए पनि अर्को कारण गठबन्धनमा नै भएको बताउनुभयो ।

“विकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्ने सिद्धान्तमा म विश्वास गर्छु, त्यसमा केही हाम्रा सीमा पनि रहे त्यो प्रमुख कारण हो”, उहाँले भन्नुभयो, “जुन ढङ्गले गठबन्धन गरियो गठबन्धनमा पनि इमान्दारिता भएन ।” डा भट्टराईले गठबन्धनको धर्मअनुसार एकपटक निर्णय गरेपछि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या आएको बताउनुभयो ।

गठबन्धनका दलको लोकतान्त्रिक मूल्यमान्यता र नैतिक आचारणविपरितको कार्यले गठबन्धन गरेर पनि पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको आरोप लगाउनुभयो । उहाँले नेपालको संविधानले नै मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेकाले देशमा चुनावी गठबन्धन अझै पनि आवश्यक रहेको भने स्पष्ट पार्नुभयो ।

“प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ भनेर हामीले भनिरहेका छौँ”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले भन्नुभयो, “त्यो नभएसम्म अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलको प्रष्ट बहुमत आउन नसक्ने हँुदा गठबन्धन गर्र्नु वा चुनावी तालमेल गर्नु आवश्यक छ ।”

उहाँले पटक्कै विचार नमिल्ने शक्तिबीच गठबन्धन भनेर अघि बढ्दा गतिहिनता र अस्तव्यस्तता आएकाले अब पुनःविचार गर्नुपर्ने बेला आएको बताउनुभयो । “वैचारिकरुपमा सापेक्ष ढङ्गले एकरुपमा भएका वा निकट भएका शक्ति बीचमा गठबन्धन तालमेल भयो भने दिगो हुन्छ, नीति कार्यक्रम लागू गर्न पनि सहज हुन्छ”, अध्यक्ष डा भट्टराईले भन्नुभयो, “जुन शक्तिका बीचमा आधारभूत नीति नै मिल्दैन, आर्थिक नीति, विदेश नीति, देशको लोकतान्त्रिक ढाँचासम्बन्धी नीति नै मिल्दैन त्यस्ता शक्ति एकै ठाउँमा बस्यो भने त्यसले क्षणिक चुनावी लाभ हुन्छ, सरकार बन्छ तर त्यसले काम गर्न सक्दैन ।”

जसपा कम्युनिष्ट शक्ति नभएको भन्दै उहाँले लोकतन्त्रमा आधारित समाजवादलाई विश्वास गर्ने शक्ति भएकाले लोकतन्त्र र समाजवादलाई सँगसँगै लैजानुुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताउनुभयो । “लोकतान्त्रिक शक्ति जसले अग्रगामी प्रगतिशील सोच राख्दछन्, त्यस्ता शक्ति बीचको गठबन्धन दिगो हुन्छ भन्ने हाम्रो बुझाइ हो”, डा भट्टराईले भन्नुभयो ।