१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

विमान दुर्घटनाः के नेपालमा उडानअघि हवाईमार्गको मौसमी अवस्था थाहा पाउन सम्भव छ ?

विमान दुर्घटनाः के नेपालमा उडानअघि हवाईमार्गको मौसमी अवस्था थाहा पाउन सम्भव छ ?
अ अ+ अ-

एजेन्सी । आन्तरिक उडान गर्ने विमान कम्पनीहरूले उडान योजना पेस गर्दा हवाईमार्गको मौसमसम्बन्धी ताजा जानकारी पनि समावेश गर्नुपर्ने नियम कार्यान्वयन गर्न जटिलता उत्पन्न भएको अधिकारीहरू तथा वायुसेवा कम्पनीहरूले बताएका छन्।

वायुसेवा कम्पनीका अधिकारीहरूका अनुसार ‘सरकारी निकायबीच नै समन्वयको अभाव’ देखिँदा उक्त निर्णय कार्यान्वयन असहज भएको हो।

उक्त निर्णय कार्यान्वयन गराउने निकायका सरकारी अधिकारीहरू भने सुरुमा केही जटिलता देखिए पनि क्रमशः सम्बोधन भइरहेको र नियम कार्यान्वयन सहज बनाइने बताउँछन्।

मौसमसम्बन्धी जानकारी उपलब्ध गराउने जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले चाहिँ ‘जनशक्ति र प्रविधि’को अभाव रहेको बताएका छन्।

उड्डयन क्षेत्रका विज्ञका दृष्टिकोणमा भने उक्त नयाँ सरकारी नियम ‘अपरिपक्वजस्तो’ देखिएको छ।

नयाँ नियममा के छ
गत आइतवार २२ जनाको ज्यान जानेगरी पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त नयाँ नियम लागु गरेको थियो।

उसले दुर्घटना न्यूनीकरणका लागि भन्दै गत मङ्गलवार चारवटा निर्णयहरू गरेको थियो।

तर तीमध्ये एउटा इन्जिनयुक्त हेलिकप्टर उडाउन पनि दुईजना चालक अनिवार्य बनाउने विषयमा वायुसेवा सञ्चालकहरूले तत्कालै विमति जनाएका थिए।

त्यस्तै अर्को मौसमसम्बन्धी नयाँ नियमले पनि उडानलाई प्रभावित पारेको विमान सेवा सञ्चालकहरूको भनाइ छ।

उक्त नयाँ नियममा भनिएको छ, ‘वायुसेवा कम्पनीहरूले’एटीएस रिपोर्टिङ अफिसु वा सम्बन्धित एकाइमा उडान योजना पेस गर्दा गन्तव्य तथा मार्गको मौसमसम्बन्धी जानकारी जल तथा मौसम विज्ञान विभागबाट सङ्कलन गरी पेस गर्नुपर्ने छ र उक्त विवरणअनुसार मौसमी अवस्थाअनुकूल भए मात्र ‘एटीएस रिपोर्टिङ अफिस’ वा सम्बन्धित एकाइले उडान अनुमति स्वीकृत गर्नुपर्ने छ।’

‘नियम राम्रो, समन्वय नहुँदा समस्या’
प्राधिकरणको उक्त नियम सकारात्मक हुँदाहुँदै पनि सरकारी निकायबीच समन्वय नहुँदा आफूहरूले समस्या भोगेको एउटा वायुसेवा कम्पनीका अधिकारीले बताए।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘नियम आफैँमा राम्रो हो तर समन्वय अभाव देखिएको छ। त्यसले गर्दा हामीले मौसम विभागबाट रिपोर्ट नपाउँदा बिहीवार पहाडी क्षेत्रमा प्रायः सबै उडान रद्द गर्नुपर्‍यो।’

उनले विमानस्थलस्थित जल तथा मौसम विज्ञान कार्यालयले आफूहरूलाई त्यस्तो विवरण दिन नसकिने जानकारी गराएको तर शुक्रवार बिहान भने क्षेत्रगत विवरण दिएको र त्यसैका आधारमा उडान सुरु गरिएको बताए।

उनले भने, ‘यसले हतारमा निर्णय गरियो तर समन्वयको अभाव भएको देखायो।’

मौसम विभागको आफ्नै ‘गुनासो’
जल तथा मौसम विज्ञान विभागका अधिकारीहरू प्राधिकरणले भनेजस्तो खालको सबैखाले उडान मार्गको विस्तृत मौसमसम्बन्धी विवरण दिने कार्य सहज नभएको बताउँछन्।

विभागकी सूचना अधिकारी विभूति पोखरेलले भनिन्,‘ त्यही इनरूट दिन पनि अलिकति अप्ठ्यारै हुन्छ किनकि एकदम लोकल प्रकारको मौसम हुन्छ र हामी त भित्र खोँचबाट जाने हो, अन्तजस्तो सजिलो त होइन।’

‘त्यस्ता खोँचहरू धेरै छन् नेपालमा, त्यसैले त्यो ठाउँविशेषको दिन गाह्रै होला। तर हामीले अहिले तल्लो सतहको केही दिन सकिन्छ कि भनेर काम गरिरहेका छौँ।’

अधिकारीहरूका भनाइमा अहिले पनि विभागले अन्तर्राष्ट्रिय उडानका लागि १५,००० फिटभन्दा माथिको उडानमार्गको मौसमी विवरण पनि दिइरहेको छ।

तर त्यसभन्दा तलको विवरण भने दिनलाई प्राविधिक रूपमा पनि चुनौतीपूर्ण हुने धारणा उनीहरूको छ।

‘प्राविधिक जटिलताहरू पनि छन् र मुख्यतस् जनशक्तिकै समस्या हो,’ उनले भनिन्।

तर विभागले अहिले छलफल गरेर क्षेत्रगत विवरण भने उपलब्ध गराउन थालेको उनको भनाइ छ।

त्यस्तो क्षेत्रगत विवरण भनेको कुनै प्रदेश वा त्यस क्षेत्रको मौसम हेरेर त्यसकै जानकारी दिनु भएको उनको भनाइ छ।

समग्र मौसमी विवरणमा भने यसअघि पनि विभाग तथा त्यसअन्तर्गत रहेका कार्यालयहरूको पूर्वानुमानलाई आधार मानेर वा सम्बन्धित विमानस्थलका टावरका प्राविधिकहरूले आँखैले हेरेको आधारमा उडान गर्ने गरेको जानकारहरू बताउँछन्।

प्राधिकरण के भन्छ ?
नयाँ नियम लागु गर्ने प्राधिकरणका अधिकारीहरूले भने उक्त निर्णय कार्यान्वयनका क्रममा केही ूअलमलू देखा परेको भए पनि त्यो ‘समाधान’भइसकेको बताएका छन्।

प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले भने, ‘बीचमा केही कन्फ्युजनहरू भए। मौसम विज्ञान विभागले हरेक आधा घण्टामा विमानस्थलहरूलाई जानकारी दिएकै छ। कुनै चरम मौसम हुन लाग्दा तत्काल जानकारी पनि दिइन्छ।’

‘यो हाम्रो पचासौँ वर्षदेखिको सहकार्य हो। मात्र के हो भने– अलिकति बढी हामीले खोजेको। हामीलाई पनि पहुँच छैन र उहाँहरूसँग पनि पहुँच छैन, त्यसका लागि उहाँहरूले उपायहरूको खोजी गरिरहनुभएको छ।’

उनले विभागले आफूहरूको सहयोग खोजेमा त्यसका लागि पनि आफूहरू तयार रहेको बताए।

कर्णले भने, ‘हामी कसरी सहयोग गर्न सकिन्छ भनेर पनि छलफल गरिरहेका छौँ। अन्तर्राष्ट्रिय समुदायले पनि सहयोग गर्न सक्छन्।’

विज्ञको भनाइ
कतिपय विज्ञका दृष्टिकोणमा प्राधिकरणले गरेको उक्त निर्णय हतारमा गरिएको जस्तो देखिएको छ।

त्यस्तै विज्ञमध्येका एक प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजा भन्छन्, ‘प्राधिकरणले सुरक्षात्मक उपाय अपनाउन खोजेको हो, तर नेपालको जस्तो भूगोलमा खोँच भएकाले पनि उडानमार्गको यकिन विवरण निकाल्न सहज होला जस्तो मलाइ लाग्दैन।’

उनका अनुसार मौसम क्षणक्षणमा परिवर्तन हुने भएको र नेपालमा आवश्यक उपकरणहरू पनि नभएकाले सबैतिरको उडानमार्गको यथार्थ विवरण उपलब्ध हुन समस्या पर्न सक्छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न स्थानमा मौसमसम्बन्धी विवरण दिने ८३६ वटा स्टेशन छन्।

ती स्टेशन र केन्द्रहरूबाट प्राप्त विवरणका आधारमा विभागले मौसमको पूर्वानुमान गर्ने गर्छ। बीबीसी