• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे…

सदस्य–सचिव घिसिङ र सब्रिनाबीच भेट



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंक लाल घिसिङ र चार पटक ओलम्पिकमा सहभागिता जनाइ सकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरबीच शुक्रबार भेटघाट भएको छ । सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सब्रिनालाई भेटेका हुन् ।

सब्रिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आएकी हुन् । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।

सदस्य–सचिव घिसिङले सब्रिना र उनको भ्रमण दलमा रहेका अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) का मिडिया डाइरेक्टर निकोलसलाई मायाको चिनो प्रदान गरे । सब्रिना पनि आईजेएफको कमिटीमा आबद्ध छिन् ।

सो अवसरमा सदस्य–सचिव घिसिङले सगरमाथा सफलतापूर्वक आरोहण गरेकोमा सब्रिनालाई बधाइ दिदै सब्रिनाले खेलाडीले खेल्नुका साथै अन्य चुनौतीपूर्ण कार्य पनि गर्न सक्छन् भन्ने सन्देश दिन सफल भएको धारणा व्यक्त गरे । सब्रिनाले आफ्नो यात्राका बारेमा सदस्य–सचिव घिसिङलाई जानकारी गराइन् ।

सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको जिरो लेभलबाट सुरु गरेकी थिइन् । त्यहाँदेखी बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गरेकी थिइन् ।

त्यो यात्रामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता साइक्लिस्ट लक्ष्मी मगर र अर्का साइक्लिस्ट हर्कबहादुर तामाङले सब्रिनालाई सहयोग गरेका थिए । सदस्य–सचिव घिसिङले उनीहरुलाई पनि मायाको चिनो प्रदान गरे ।

सब्रिनाले बेइजिङ, लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी छन् । विश्व च्याम्पियनसिपमा २ कांस्य सब्रिनाको नाममा छ । युरोपियन च्याम्पियनसिपमा १० पदक जित्दा २ पटक आफ्नो स्पर्धामा च्याम्पियन नै भइन् ।

सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गरिसकेकी छन् । सब्रिना जुन ८ तारिखमा स्वदेश फर्किदै छिन् ।