१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकः युवापुस्तालाई समेट्ने गरी बजेट ल्याउनुपर्छ



अ+ अ-

काठमाडौं । सांसद विन्दा पाण्डेले उपसभामुखको निर्वाचन अविलम्ब गर्नुपर्ने माग गर्दै युवापुस्तालाई समेटने गरी बजेट ल्याउन जरुरी भएको सुझाव दिनुभयो ।

प्रतिनिधिभसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलका विषयमा उहाँले अहिलेका युवापुस्ताले बजेटका शब्दशब्दमा आफ्नो भविष्य खोजिरहेको हुनाले नीति, बजेट र कार्यक्रम बनाउँदा नयाँपुस्तालाई ध्यान दिनेगरी ल्याउनुपर्ने सुझाव दिनुभयो ।

सांसद गङ्गा चौधरी सत्गौवाले बजेट चुनावमुखी भएको उल्लेख गर्दै एक हजार ४५० सडकको बजेट कहाँ गयो, यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने माग गर्नुभयो । उहाँले २५ जिल्लामा महिलालाई सुत्केरी भत्ता दिने सरकारले बजेटमा ल्याएको छ तर समानरुपमा ७७ जिल्लाकै महिलालाई सुत्केरी भत्ता दिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद सुजाता परियारले नेपाली उत्पादनमा वृद्धि र स्वेदेशी वस्तु र उत्पादन बढाउने खालको भएको, मुसहरसहित विपन्न आवास तथा जमिन दिने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

सांसद नवीना लामाले महँगी अत्यधिक बढेको छ, शिक्षा र स्वास्थ्यमा विभेद देखिएको छ, सामाजिक सुरक्षामा भत्ता दिँदा विपन्न र पछाडि परेकालाई दिँदा अझ राम्रो हुनेथियो भन्नुभयो ।

सांसद नवराज रावतले कृषि क्षेत्रमा राम्रो बजेट आए तापनि किताबमा सीमित रहने र मल ल्याउने कुरामा बढी ध्यान दिनुपर्छ भन्नुभयो ।

सांसद राजबहादुर बुढाले शिक्षाजस्तो महत्वपूर्ण विषयमा बजेट घटेको र विज्ञान र प्रविधिलाई आफ्नो बनाउन सकिएन भने मुलुकको स्वाधीनता पछाडि पर्ने सुझाव राख्नुभयो ।

सांसद जगतबहादुर विश्वकर्माले शोषण, उत्पीडित र दलित समुदायलाई माथि उठाउन बजेटमा रकम छुट्याउन सुझाव दिनुभयो । सांसद रेखाकुमारीले महँगी बढेको तर बजेटमा महँगी घटाउने विषयमा कुनै पनि कार्यक्रम नभएको उल्लेख गर्दै गरिबलाई अझ गरिब र धनीलाई अझ धनी बनाउने बजेट आएको बताउनुभयो ।

सांसद शान्तिमाया पाख्रिन तामाङले सरकारले महत्वाकाङ्क्षी बजेटमा ल्याएको र कार्यान्वयन हुनेमा कठिनाइ देखिएको सुझाव दिनुभयो ।

सांसदहरु शान्ता चौधरी र आशाकुमारी विकले बजेटमा आन्तरिक पुँजी वृद्धि र युवालाई रोजगार दिने योजना भएको बताउनुभयो ।