• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

राष्ट्र निर्माणमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता – शंकर पोखरेल



file

काठमाडौं । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताउनुभएको हो । उहाँले दलहरुको गठबन्धनले देश बनाउन नसकिने बताउनुभयो । उहाँले जति धेरै राजनीतिक दलहरु हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने बताउनुभयो । देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरुको निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।

महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरु राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘दुनियाँमा कहीँपनि गठबन्धनले देश बनाएको, दलहरु मिलेर देश बनाएको भन्नेकुरा हामीले सुन्दैनौँ । देश बनाउनका लागि राष्ट्रिय शक्ति चाहिन्छ । गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन । आज मुलुकको राजनीतिलाई गठबन्धनतर्फ लाने जुन कोसिस भएको छ । यो राष्ट्र निर्माणको बाटो होइन ।

प्राविधिक रुपमा जित हासिल गर्नका लागि गठबन्धन सफल भयो होला तर त्यसका माध्यमबाट राष्ट्र बन्न सक्दैन । राष्ट्र बन्नका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ । जति धेरै राजनीतिक दलहरु त्यति धेरै अस्थिरता । जति धेरै राजनीतिक दलहरु त्यति धेरै नीतिगत विचलन । जति धेरै राजनीतिक दलहरु त्यति धेरै वैदेशिक हस्तक्षप । यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ हो । पीडा हो । यदी हामी राष्ट्र बनाउन चाहान्छौँ भने त्यो अवस्थाबाट मुलुकलाई मुक्त गर्नु जरुरी छ र नेपालमा थोरै, बलिया राष्ट्रिय शक्तिहरुको निर्माण गर्नु जरुरी छ । होला असन्तुष्टिहरु बालेनका रुपमा वा साम्पाङका रुपमा बेला बखत प्रकट हुन्छन् । तर त्यो राज्य सञ्चालकको प्रवृत्ति होइन ।

एकप्रकारले भन्ने हो भने त्यो राजनीतिमा नो भोटको प्रवृत्तिका रुपमा त्यस्ता पात्र, प्रवृत्तिहरु देखा पर्छन् । त्यसअर्थमा राजनीतिक दलहरुले मुलुकलाई सहि प्रकारको विकल्प दिन नसक्दाखेरी मतदाताहरुले विद्रोह गरे र स्वतन्त्र व्यक्तिहरु विजेता बनेका छन् तर मुलुकलाई नेतृत्व गर्ने सहि बाटो होइन । र उनीहरु साच्चै राजनीतिमा सफल हुन चाहान्छन् भने संस्थागत प्रकृयामा जोडिनु जरुरी छ । स्वतन्त्र व्यक्तिहरुका लागि कुन पार्टी मन पर्छ उनीहरुको छनौटको अधिकारको कुरा हो । तर एक्लै समाजलाई बदल्छु भन्नेखालको कुरा यो न हिजो सम्भव भएको थियो । न भोली सम्भव हुन्छ ।’

महासचिव पोखरेलले भन्सार नीतिमा गरिएको हेरफेरका कारण विदेशी मुद्राको सञ्चितीमा गिरावट आएको बताउनुभयो । व्यापारीहरुले आयातमुखि नीति फेरी नआउने ठानेर अस्वभाविक रुपमा आयात गरेका कारण विदेशी मुद्राको सञ्चितीमा ह्रास आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘विदेशी मुद्राको सञ्चितिमा यसप्रकारको गिरावटको कारण के हो, सहि प्रकारको नीतिले त्यस्तो भएको हो ? मलाई लाग्दैन । हाम्रा आम नीतिहरु सहि हुँदाहुँदै सञ्चितिमा गिरावट आयो भन्ने कुरा मलाई लाग्दैन ।

आयातका लागि एलसी स्वीकृत गर्नेकुरा भनेको राष्ट्र बैंकको निगरानी भन्दा बाहिर हुन्छ भन्ने मलाई लाग्दैन । र भन्सार नीतिमा जुन प्रकारको हेरफेर गरिन्छ, त्यो हेरफेरको प्रभाव नै आयातमा अस्वभाविक वृद्धि भयो । के अर्थमा व्यापारीहरुले लिए त भन्दाखेरी यसप्रकारको आयातमुखि नीति भविष्यमा फेरी प्राप्त हुँदैन भन्ने प्रकारको मान्यता बनाए र उनीहरुले अस्वभाविक ढंगले आयात गर्ने काम गरे । जसका कारणले गर्दाखेरी विदेशी मुद्राको सञ्चितीमा उल्लेख्य ह्रास आयो ।’

उहाँले राज्यले हुण्डी कारोबारीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको बताउनुभयो । रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउन छाडेको उल्लेख गर्दै उहाँले बैंकिङ नीतिलाई प्रभावकारी बनाउन सकेको भए त्यसो नहुने धारणा राख्नुभयो । सरकारले स्रोत नखुलेको लगानी भित्राउने नीति अगाडी बढाएसँगै बजारबाट पैसा हराएको उहाँले बताउनुभयो ।