• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णय आजदेखि लागू



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएको खण्डमा उडानको अनुमति नदिने नियम आजदेखि लागू गरेको छ । जहाज प्रस्थान गर्ने विमानस्थल तथा पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’ को मौसम सफा नभएसम्म जहाजलाई उडान अनुमति नदिइने नियम आजदेखि लागू गरिएको क्यानका महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसम सफा नभएका खण्डमा जहाजलाई उडानको अनुमति नदिने नियम बनाउन क्यानलाई सोमबार निर्देशन दिनुभएको थियो । क्यानले उडानका लागि बनाएको नयाँ नियम कार्यान्वयनमा समन्वय हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने आन्तरिक उडानमा केही समय ढिलाइ भएको थियो ।

उडान सुरक्षालाई ध्यानमा राखेर लागू गरिएको निर्णय कार्यान्वयनमा समन्वय हुन नसक्दा बिहान कम्तीमा पनि दुई घण्टा उडान ढिलो भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । बिहानको मौसम सफा भए पनि ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमति नदिँदा दुई घण्टाजति रोकिएको थियो । मौसमबारे जल तथा मौसम विज्ञान विभागले रिपोर्ट नदिएको भन्दै क्यानले उडानका लागि अनुमति नदिँदा उडान दुई घण्टा रोकिएको बताइएको छ ।

प्रतिकूल मौसमका कारण देशमा पटकपटक हवाई दुर्घटना हुँदै आएको निष्कर्ष निकाल्दै क्यानले मौसम सफा नभएका खण्डमा जहाजलाई उडानको अनुमति नदिने निर्णय गरेको हो । महानिर्देशक ई अधिकारीका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुने भएको छ ।

उक्त निर्णयपछि अब जहाज उड्ने रुटको मौसमसमेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने र यसको कडाइका साथ पालना गरिने क्यानले जनाएको छ । क्यानका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई आधार मानिनेछ ।

प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा तारा एयरको जहाज दुर्घटनामा परेको क्यानको प्रारम्भिक अनुमान रहेको छ । उक्त जहाज दुर्घटनामा परी चालक दलका सदस्य तीन जना, १३ नेपाली, चार भारतीय तथा दुई जर्मन नागरिकसहित २२ जनाको मृत्यु भएको थियो ।