९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नवनिर्वाचितका घोषणा: अस्पताल निर्माणदेखि किरिया खर्चसम्म

नवनिर्वाचितका घोषणा: अस्पताल निर्माणदेखि किरिया खर्चसम्म
अ अ+ अ-

जनकपुर । स्थानीय तहमा नेतृत्वदायी भूमिकामा निर्वाचित भएसँगै स्थानीय तहका प्रमुखले आ–आफ्ना प्राथमिकताका योजना सार्वजनिक गर्दै पदभार ग्रहण गरेका छन् । कतिपय तहका प्रमुखले स्वास्थ्य, शिक्षा, खानेपानीको योजनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् भने कतिपयले व्यक्तिगत घटना दत्र्ता निःशुल्क गर्नेदेखि विपन्न परिवारलाई किरियाखर्च उपलब्ध गराउनेसम्मको घोषणा गरेका छन् ।

सप्तरीको कान्छो गाउँपालिकाको रुपमा परिचित बलान बिहुल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष खेमचन्द्र यादवले जनतालाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले छुट्टै अस्पताल स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

“गाउँपालिकामा वरिष्ठ चिकित्सकसहितको अस्पताल छैन, जसका कारण यहाँका नागरिक उपचार गर्न ठूलो रकम खर्चेर बाहिर जानुपर्ने बाध्यता छ”, अध्यक्ष यादवले भन्नुभयो, “त्यसैले मेरो प्राथमिकतामा वरिष्ठ चिकित्सकसहितको अस्पताल सञ्चालन गर्ने रहेको छ ।” सो अस्पतालबाट यहाँका जनतालाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने उहाँले बताउनुभयो ।

गाउँपालिकामा एम्बुलेन्स सुविधा नहँुदा कतिपय बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन समस्या भइरहेको पाइएकोले तत्काल गाउँपालिकाबाट एम्बुलेन्स खरिद गरिने उहाँले बताउनुभयो । गाउँपालिकाको पहिलो बैठकबाट तत्काल अत्यावश्यक औषधि खरिद गरी पालिकाभित्रका सबै स्वास्थ्य संस्थामा औषधि उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै पालिकाले सबै नागरिकको स्वास्थ्यमा पहुँच अभिवृद्धि गराइने योजना बनाएको छ ।

भौतिक पूर्वाधारको दृष्टिकोणले पछाडी परेको गाउँपालिकाको हरेक सडकलाई पाँच वर्षभित्र पक्की बनाउने लक्ष्यका साथ कार्य अघि बढ्ने उल्लेख गर्नुहुँदै आफ्नो कार्यकालमा गाउँपालिकालाई नमूना गाउँपालिकाको रुपमा विकास गर्ने यादवले जानकारी दिनुभयो ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीको तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष यादवले विकास निर्माणमा पारदर्शीता र सुशासनलाई परिपालन गरिनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै धनुषाको सबैला नगरपालिकाका अध्यक्ष कारिराम यादवले किसानले सिँचाइको लागि खपत गरेको विद्युत् महसुलको रकम नगरले तिर्ने घोषणा गर्नुभएको छ । सबैला नगर क्षेत्रभित्र जडान भएको कृषि मिटरले किसानले कृषि उपजको लागि खपत गरेको बिजुलीको बिल कार्यालयले व्यहोर्ने उहाँले बताउनुभयो ।

सबैलाका दीर्घरोगी, सुगर र उच्च रक्तचापका बिरामीलाई नगरबाट निःशुल्क औषधि वितरण गर्ने र शहीद तथा बेपत्ता परिवारलक्षित कार्यक्रमसमेत ल्याउने निर्णय लिएको उहाँको भनाइ छ । साथै, सामाजिक सुरक्षाभत्ता समयमै उपलब्ध गराउने, स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत व्यवस्था गरी तुरुन्त आकस्मिक सेवा सञ्चालन गरिने जनाइएको छ ।

सिरहाको लहान नगरका प्रमुखमा निर्वाचित महेश चौधरीले पदभार ग्रहण गरेकै दिन व्यक्तिगत घटना दत्र्ता निःशुल्क गरिने र आफ्नो तलब भत्ताबाट मासिकरुपमा दलित विपन्न परिवारलाई राहत वितरण गर्ने घोषणा गर्नुभयो । यसका साथै दलित परिवारलाई क्रियाखर्च रु पाँच हजार उपलब्ध गराउने घोषणा गर्नुभएका उहाँले शिक्षा, स्वास्थ्य र रोजगारी प्रबद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

यस्तै सोही दिन चौधरीले नगरको ४ नं. वडामा फोहरमैला व्यवस्थापन केन्द्र तथा शवदाह गृह स्थापना गर्ने निर्णय गर्नुभयो । सिरहाकै गोलबजार नगरका नवनिर्वाचित प्रमुख श्यामकुमार श्रेष्ठले नगर क्षेत्रमा रहेका फुसका छाना भएका घरलाई विस्थापित गरी जस्ता पाताले छाउने, दलित समुदायका महिलालाई रु पाँच हजार सुत्केरी भत्ता तथा दलित समुदायको व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने घोषणा गर्नुभयो ।

गत शुक्रबार पदभार ग्रहण गर्नुभएका श्रेष्ठले नगरक्षेत्रमा तत्काल खोनेपानीको व्यवस्था मिलाउन प्राविधिक प्रक्रिया अघि बढाइनेसमेत घोषणा गर्नुभयो । नगरको उत्तरी क्षेत्र र मुख्य बजारमा खानेपानीको असुविधा रहेकाले तत्काल सञ्चालन गर्न ‘बोर्डिङ’ जडान गर्ने उहाँको भनाइ थियो ।

यस्तै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले कार्यभार सम्हाल्दै फोहर व्यवस्थापनको जिम्मा वडालाई दिने निर्णय गर्नुभयो । सरसफाइको काम उपमहानगर कार्यालयबाट हुँदै आएकोमा अब नगरका सबै वडामा आवश्यक जनशक्ति तथा सफाइका साधन उपलब्ध गराई विकेन्द्रितरुपमा सम्पन्न गर्ने र यसका लागि २५ वटै वडा कार्यालयलाई सफाइको जिम्मेवारी प्रदान गर्ने नगरप्रमुख साहको भनाइ छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले कार्यभार सम्हालेसँगै तिन वटा निर्णय गरेका छन् । नवनिर्वाचित अध्यक्ष दिपीनदेव यादव र उपाध्यक्ष कमला सहगल पदभार ग्रहणलगत्तै गाउँपालिकाभर निःशुल्क इन्टरनेट प्रदान गर्ने गर्नुभयो । एक बिघाभन्दा कम जग्गा रहेका किसानलाई गाउँपालिकाले निःशुल्क कृषिमिटरसमेत वितरण गर्ने निर्णयसमेत गरिएको जनाइएको छ ।

गाउँपालिकाले गरिब, दलित र अल्पसङ्ख्यक नागरिकलाई अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको अध्यक्ष यादवले बताउनुभयो ।

स्थानीय तहमा नेतृत्वदायी भूमिकामा निर्वाचित जनप्रतिनिधिले नयाँ नयाँ योजना अघि सारेको पाइएको छ । तर, अधिकांश योजनाबिनानै घोषणा गरिएकाले कार्यान्वयन हुनेमा चुनौति देखिएको बताइन्छ । रासस