• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु ★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ?

बागलुङ बजारमा जडान भएका २९ सिसी क्यामरा प्रयोगविहीन भएपछि पुनः जडान गरिँदै



बलेवा । बागलुङ बजारभित्र सिसी क्यामरा व्यवस्थापन गर्ने काम पुनः सुरुआत हुने भएको छ । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायका संयुक्त सहकार्यमा बजार क्षेत्रमा क्यामरा जडान गर्ने प्रक्रिया अघि बढेको हो ।

बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकमा पुनः सिसी क्यामरा जडान गर्ने प्रक्रियाअघि बढेको सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो । यसअघि बजारमा जडान भएका २९ सिसी क्यामरा प्रयोगविहीन अवस्थामा छन् ।

आवश्यक मर्मतसम्भारको अभावमा तीन वर्षयता प्रयोगविहीन भएका क्यामरा विस्थापन गरेर नयाँ क्यामरा जडानका लागि नगरपालिकाले रु १५ लाख विनियोजन गरेको छ । सङ्घको रु ८ लाख र बाँकी अपुग रकम व्यवसायीसँगबाट सहयोग सङ्कलन गरेर भए पनि बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्ने काम सुरु गरिने अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । सिसी क्यामरा जडान र यसका लागि आवश्यक पूर्वाधार तयार गर्नका लागि रु ३० लाख लाग्ने अनुमान छ ।

“नवनिर्वाचित मेयरले नपुगेको रकम दिने भन्नुभएको छ, हामीले २०० क्यामरासम्म धान्न सक्ने लागत राख्दैछौँ, उहाँले भन्नुभयो, “नाइट भिजनसमेत दिने क्यामरा जडान गर्नुपर्ने छ, तब मात्रै अपराध र चोरी नियन्त्रणका लागि सहयोगी बन्छ ।” बजारमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठ सङ्घको अध्यक्ष रहेका बेला सिसी क्यामरा जडान गरिएको थियो । बढ्दो सहरीकरणसँगै समाजमा अपराध तथा चोरीका घटना बढ्दै गएको समयमा नगरलाई सुरक्षित बनाउन बजारका विभिन्न चोकमा ८५ क्यामरा जडान गर्ने योजना रहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम राखेर निगरानी गरिने छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत्का पोल स्थानान्त्रण गर्ने क्रममा बिग्रिएका र निकालिएका क्यामरा पुनः जडान हुन नसक्दा बजारमा हुने आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको थियो । सिसी क्यामराले बजार क्षेत्रमा हुने चोरी र अपराधका घटना अनुसन्धानमा सहयोगी बन्ने प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताउनुभयो । बजार क्षेत्र विस्तार भइरहेको बागलुङ –४ को उपल्लाचौर र पाखाथरमा समेत मुख्य चोकमा क्यामरा जडान गर्ने योजना छ ।

यसका लागि काम सुरु गर्न सङ्घले यहाँका केबल टिभी व्यवसायीसँग संवाद भइरहेको जनाएको छ । सबै पक्षको सहयोग र समन्वयमा सिसी क्यामरा जडानको काम हुने नगरप्रमुख श्रेष्ठ बताउँछन् । बजारलाई सुरक्षित बजार बनाउनका लागि सिसी क्यामरा तत्काल आवश्यक रहेको यहाँका सुनचाँदी व्यवसायी अनिश खातीले बताउनुभयो ।