• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड

२०७४ मै सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको पक्की पुल नौ वर्षसम्म पनि बनेन



फाईल फोटो

– टीका खतिवडा
मङ्गलबारे । निर्माण थालिएको नौ वर्ष हुँदा पनि इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका जोड्ने पक्की पुल अझैसम्म पूरा हुन हुनसकेको छैन । विसं २०७४ मै सम्पन्न गर्नेगरी २०७१ असार २७ मा ठेक्का सम्झौता गरिएकोे पक्की पुल हालसम्म पनि सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् । हिउँदमा त खोलाबाट नै गाडी वारपार गर्छन् तर बर्खायाम सुरु भएसँगै पारीको गाडी पारी नै वारीको वारी नै हुनेहुँदा खाद्यान्न ढुवानी गर्न र बिरामी पर्दा समस्या हुने गरेको छ । पक्की पुलदेखि नजिकै माथि झोलङ्गे पुल छ ।

स्थानीयवासीले सोही झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दै आएका छन् । पुलको मुख दुवैतिर निकै जोखिम मोलेर मोटरसाइकल तार्नुपरेको सम्बद्ध यात्रुको गुनासो छ । इलाम नगरपालिका–५ को बरबोटे र माइजोगमाई ५ को सोयाङ जोड्ने दूधाङमा पक्की पुल निर्माणका लागि २०७१ असार २७ मा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । सम्झौतामा २०७४ सालमा नै सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि पुल हालसम्म सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् ।

पटक–पटक म्याद थप भएर पनि निर्माण सम्पन्न नहुँदा पुलबाट आवतजावत गर्न पाइने आशामा रहेका यहाँका बासिन्दामा उत्तिकै निराशा छाएको स्थानीयवासी बालकुमार पोख्रेलले बताउनुभयो । उहाँले वर्षौंदेखिको आशा अब नयाँ जनप्रतिनिधिले पूरा गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । डिभिजन सडक कार्यालयका अनुसार सम्झौता अवधिमा काम नसकिएपछि २०७४ पुस २७ सम्मलाई पहिलो पटक म्याद थपिएको हो । नेशनल निलगिरि जेभीले ठेक्का पाएर पनि निर्माण सम्पन्न गर्न सकेको छैन ।

उक्त कार्यालयले रु पाँच करोड ८५ लाखमा ठेक्का लगाएको सो काम निलगिरि जेभीले दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । इलाम सदरमुकामबाट माइजोगमाई केन्द्रसम्म दैनिक दर्जनौँ सवारी साधन चल्छन् । इलाम र नयाँ बजार करिब २२ किलोमिटरमा सडकबीचको पुल सम्पन्न नहुँदा खोलाबाटै कठिन यात्रा गर्नुपरेको स्थानीयवासी र चालकको भनाइ थियो ।

अर्का स्थानीयवासी टीकानाथ ढुङ्गानाले हिउँदमा जे भए पनि बर्खायाममा भने सास्ती खेप्नुपर्ने भएको बताउनुभयो । यो पुलको एकातर्फ नेकपा ९एमाले०का संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ र अर्कातर्फ पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो ।

पुल सञ्चालनका लागि अब पहल गरिने इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले बताए । अब यो पुल निर्माण गर्ने कम्पनीसँग छलफल गरेर अघि बढ्ने इलाम नगरपालिकाका प्रवक्ता नुतेदेव दुलालको भनाइ थियो । उहाँले के कारणले यति समय भइसक्दा पनि यो पुल निर्माण हुन नसकेको हो यस विषयमा आफूहरुले चासो बढाउने बताउनुभयो ।

निर्माणधीन पुलबाट इलाम नगरपालिका तथा माइजोगमाई गाउँपालिका हुँदै सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका एवं भारतका विभिन्न ठाउँका बासिन्दालाई सहज हुन्छ । स्थानीयवासीको सहजताका लागि आफूहरुले सम्बन्धित निकायसम्म पुगेर खबरदारी गर्ने नवनिर्वाचित नगरप्रमुख केदार थापाले बताउनुभयो । उहाँले अब निराशा नहुन पनि स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

नगरप्रमुख थापाले समस्या समाधानका लागि आफ्नो ध्यान गइसकेको र तत्काल निर्माणकार्य सम्पन्न गराउन पहल गरिएको बताउनुभयो । इलाम सदरमुकामदेखि माइजोगमाईको केन्द्र नयाँ बजारसम्म पुग्ने मोटरबाटो ग्राभेल गरिएको छ ।केही हदसम्म बर्खायाममा पनि सवारीसाधन सञ्चालन हुने सडकको बीचमा रहेको खोलामा पुल नहुँदा समस्या हुँदै आएको छ । काम गर्ने ठेकेदार कम्पनीले नै हो तर स्थानीयवासी तथा जनप्रतिनिधिले खबरदारी गर्न नसक्दा पनि यो पुल निर्माण हुन नसकेको हो ।

इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबिचको माइखोलामा निर्माणाधीन यो पुल थालिएको नौ वर्ष पूरा हुँदा पनि अलपत्रै छ ।