• ८ असार २०८१, शनिबार
  •      Sat Jun 22 2024
  •   Unicode
Logo
Latest
★   मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन – प्रधानमन्त्री दाहाल ★   भारतीय टोलीका ब्याट्सम्यानको प्रदर्शनबाट सन्तुष्ट छैनन् प्रशिक्षक ★   इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो ★   स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा – उपप्रधानमन्त्री श्रेष्ठ ★   युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण ★   बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने ★   नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट ★   जङ्गली हात्तीको दारासहित तीन पक्राउ ★   तनहुँमा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु ★   प्रहरीद्वारा एक करोडको सामान बरामद

तारा एयर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला



बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ ।

विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ । दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताउनुभयो ।

कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो । उहाँले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिनुभएको थियो ।