काठमाडौंः
नेपालले ओमानको अल अमिरातमा आज खेलिएको एक दिवसीय क्रिकेटमा ओमानलाई सात विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल विश्वकप क्रिकेट लिग २ मा आठ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ ।
टस जितेर पहिले क्षेत्ररक्षण रोजेको नेपालले ओमानलाई ३७.१ ओभरमा १२१ रनमै अलआउट गरेको थियो । ओमानको इनिङ ध्वस्त बनाउनेक्रममा नेपाली बलरहरु करन केसी र सन्दिप लामिछानेले आठ विकेट लिएका थिए ।
करन केसीले २५ रन खर्चेर माथिल्लो क्रमका चार खेलाडीलाई आउट गरेका थिए । उनले आठ ओभर बलिङ गरेका थिए ।
अर्का बलर सन्दिप लामिछानेले ८.१ ओभर बलिङ गर्दै मध्यक्रमका चार खेलाडीलाई आउट गरेका थिए । उनले २ मेडन राख्दै १८ रन मात्र खर्चिएका थिए ।
शरद भेश्वाकरले ६ ओभर बलिङ गर्दै २ विकेट लिएका थिए ।
जितका लागि १२२ रनको लक्ष पाएको नेपालले ३ विकेट गुमाएर १८.२ ओभरमै उक्त लक्ष पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ६, आशिफ शेखले ४०, कप्तान ज्ञानेन्द्र मल्लले ५२, रोहित पौडेलले ६ र शरद भेश्वाकरले १ रन बनाएका थिए ।
करन केसीले प्लेयर अफ द म्याचको पुरस्कार पाए ।