• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने



कास्की । सरकारले पोखरा महानगरपालिका–१४ मा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गर्दै हवाई पूर्वाधारतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने बताउनुभयो ।

सरकारले आर्थिक वर्ष २०७९/८० मा हवाई पूर्वाधारतर्फ रु १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

चिनियाँ कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसारका सबै काम अन्तिम चरणमा रहे पनि नेपाल सरकारको जिम्मामा रहेका सञ्चालनपूर्व गर्नुपर्ने काम भने अझै बाँकी छन् । पोखरा विमानस्थल गत चैत १२ गते चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा नेपाललाई हस्तान्तरण गरिएको थियो ।

त्यतिबेला विमानस्थलको मुख्य निर्माण र उपकरण जडानको कार्य सम्पन्न भएको र ९३ प्रतिशत भौतिक प्रगति भएपछि नेपाललाई हस्तान्तरण गरिएको थियो ।

पोखरा विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले आयोजनाको काम अन्तिम चरणको पुगेको र केही सामान्य काम मात्र बाँकी रहेको बताउनुभयो ।

उहाँका अनुसार विमानस्थल सञ्चालनका लागि अझै पनि ल्याण्डफिलसाइट स्थानान्तरण, दक्षितर्फको रिठेपानी डाँडा कटान र बर्खायाममा भलबाढी नियन्त्रणका लागि सिँचाइ नहर व्यवस्थापनको काम बाँकी छन् ।

यसैगरी आगामी आर्थिक वर्षको बजेटमा सरकारले जिल्लामा पर्यटन पूर्वाधार, खेलकुदलाई समेत सम्बोधन गरेको छ । अर्थमन्त्री शर्माले कास्कीको विरेठाँटी हुँदै हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरसम्म केबलकार पूर्वाधार निर्माणका लागि निजी क्षेत्रलाई सहजीकरण गरिने बताउनुभयो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्रीले बताउनुभयो ।

आगामी असोजमा पोखरामा नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी छ । अर्थमन्त्रीले १०औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधारमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । आगामी वर्षको बजेटमा पोखरा–मुग्लिन सडकको स्तरोन्नति र विस्तारका लागि बजेटमा व्यवस्था गरिएको छ । अर्थमन्त्री शर्माले रणनीतिक सडकका रुपमा रहेका नागढुङ्गा–नौबिसे–मुग्लिन खण्ड र मुग्लिन–पोखरा सडकका लागि रु १० अर्ब ७४ करोड विनियोजन गरिएको बताउनुभयो ।