• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली मनाउँदिन – मेयर साह



काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ ।

सोमवार महानगरपालिकाको मेयरको शपथग्रहणपछि पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर साहले काठमाडौं वासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गर्नुभयो ।

मेयर साहले भन्नुभयो, ‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तरवार्ता, खादा माला लगाएर सेलिब्रेशन गर्दैनौँ । हामीले गरेको पापको भोगी सिसडोलवासीहरु भइरहनुभएको छ । विभिन्न रोगबाट ग्रसित हुनुभएको छ ।’

त्यस्तै काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले आगामी ५ वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हक,हित,अधिकार र सहज जीवनयापनको लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले व्यक्तिको सफलता र असफलताको पछि भन्दा पनि संस्थालाई विकास गर्नेमा लक्ष्य राख्ने बताउनु भयो । उहाँले आफूले प्रतिवद्धता जनाएका कुरालाई बजेटमा समावेश गरेर सहअस्तित्व, सहकार्य र समन्वयमा काठमाडौंलाई विकास गर्न लागिपर्ने बताउनु भयो ।

उपमेयर डंगोलले भन्नुभयो, ‘आगामी ५ वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हक,हित,अधिकार र काठमाडौं वासीको जीवन साच्चिकै सहज होस् भन्नको लागि हामीले पाइला चालेका हाँै । सोहीअनुसार काम हुनेछ । अब हामी सबैले टिमवर्कमा रहेर काम गर्नेछौँ । हामीले व्यक्तिको सफलता, असफलता पछि लागेर होइन, संस्थाको सफलता हुनुपर्छ । काठमाडौं महानगरपालिका संस्था आफैँमा सफल भयो भने काठमाडौंवासी मत दिएको सफल हुनेछ । हामीले प्रतिवद्धता गरेका कुरलाई बजेटमा समावेश गर्ने पहिलो प्राथमिकता हुन्छ । सहअस्तित्व, सहकार्य र समन्वयमा काठमाडौं महानगर र काठमाडौं वासीहरुको लागि काम गर्नेछु । जीवन्त, व्यवस्थित र सांस्कृतिक काठमाडौं महानगर बनाउन पाइला चाल्नेछु ।’

काठमाडौं नगर कार्यपालिकाको बैठक आज ४ बजे बस्ने र बैठक प्रत्यक्ष प्रशारण हुने भएको छ ।