१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगनखेल पुर्याइएको मछिन्द्रनाथको रथ आज जावलाखेलतर्फ लगिने



अ+ अ-

– सञ्चिता घिमिरे
काठमाडौँ । रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपरान्ह रथलाई जावलाखेल लगिने भएको छ । गत वैशाख २६ गते लगनखेल पुर्याइएको रथलाई आज जावलाखेलतर्फ लैजान लागिएको हो ।

बिहान साइतको समयमा पानेजुहरुले साङ्केतिक रुपमा हल्लाउने गरेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । अपरान्हमा रथलाई तान्ने गरिएको छ । जावलाखेलमा पुगेपछि हुने जात्रालाई सात गाउँको जात्रा वा सप्तग्राम जात्रा भनिन्छ । जावलाखेल लैजानका लागि रथ तान्न पहिलेपहिले सात गाउँका मानिस आउनुपर्ने भए पनि अहिले कोही आउने र कोही नआउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ वरपरका कीर्तिपुर साँगा, पाँगा, चन्द्रागिरीलगायतका गाउँबाट आउनुपर्ने भए पनि अहिले आउने गरेका छैनन् ।” रथलाई जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो जात्रा हुने गर्छ । आज राति नै रथ पुगेमा आगामी शनिबार जात्रा हुने ज्योतिष दैवज्ञ जोशीले बताउनुभयो । कुनै कारणले भोलिपल्ट मात्रै पुगेमा भने आइतबार जात्रा हुनेछ । विगतका वर्षमा रथ लगनखेलबाट हिँडाएको दिनमा नै जावलाखेल पुग्ने गरेको उहाँले बताउनुभयो ।

जावलाखेलको जात्रालाई ‘सात गाउँको जात्रा’समेत भन्ने गरिएको छ । जावलाखेलमा जात्रा सकिएसँगै मछिन्द्रनाथको यो वर्षको जात्रा सकिन्छ । त्यसपछि देवतालाई बुङ्मति लैजाने गरिन्छ । देवता वर्षमा झण्डै आधाआधा समय पाटन र बुङमतिमा राख्ने गरिएको छ ।

गत बिहीबार मङ्गलबजारमा ज्योतिष खलक बसेर साइत हेर्दा जावलाखेलतर्फ लैजानका लागि आजको साइत जुरेको थियो । मङ्गलबजारको सोह्खुट्टे पाटीमा बसेर साइत हेर्ने गरिएको छ ।

उपत्यकाको सबैभन्दा लामो रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ । विगत दुई वर्ष कोभिड–१९ का कारण जात्रा नियमितरुपमा सञ्चालन हुन नसकेकामा यसवर्ष उत्साहकासाथ रथयात्रा भइरहेको गुठीका प्रमुख हरि सुवेदीले बताउनुभयो । उहाँका अनुसार कोभिड सङ्क्रमणको जोखिमका कारण गत दुई वर्ष साङ्केतिक रुपमा मात्रै रथ तानिएकामा यसवर्ष विधिपूर्वक भइरहेको छ । स्थानीय हर्षित र उत्साहित भएको सुवेदीले बताउनुभयो ।

स्थानीय तह निर्वाचन भइरहँदा पनि ललितपुर महानगरपालिकामा भने जात्राको रौनक छाएको थियो । वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण भएपछि जात्राको रौनक अझै बढ्ने गरेको छ । मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ ।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् । किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको छ ।

मछिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थानले झन्डै वर्षभर नै ध्यान दिने गर्दछ । यस वर्ष झन्डै रु ५० लाख खर्च हुने उक्त कार्यालयले अनुमान गरेको छ ।

मछिन्द्रनाथको पर्व, पूजा, रथ निर्माणलगायत कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको हो । रथ नियमितरुपमा र अवरोध नभइ सञ्चालन हुँदा कम खर्च लाग्ने भए पनि बीचमा रथ बिग्रिएमा थप रकम लाग्ने सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “बीचमा बिग्रिएर मर्मत गर्दा बढी रकम लाग्नसक्छ ।”

जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने उहाँले बताउनुभयो । देवतालाई पाटन ल्याएदेखि नै रकमेहरुको कार्यालयमा बाक्लो उपस्थिति देखिन्छ । कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका भेटिने गर्छन् ।

जात्रासम्बन्धी काममा केही वर्षदेखि युवाको सहभागिता बढिरहेको पाइन्छ । घरमा बुबा, हजुरबुबाले नसक्ने अवस्थामा सन्तानले उक्त जिम्मेवारी लिने गरेका छन् । सीप भएका व्यक्ति विदेश जाँदा भने काममा बाधा पुग्नसक्ने सुवेदीले बताउनुभयो ।