९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरी मसला: हाम्रा पुर्खाहरू कति बुद्धिमान, भोजनलाई औषधि नै बनाइदिए !



अ+ अ-

अरुणा उप्रेती । सुत्केरी मसला वा सुत्केरी औषधि गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धुलो र ओखर, काजु, नरिवल, गाईको ध्यु, दूध आदि हालेर बनाइने मसला पौष्टिकताले भरिपूर्ण हुँदैन भनी कसले भन्न सक्छ रु बत्तिसाको धुलोबारे चाहिँ के–के मिसाइन्छ भनेर मलाई पनि थाहा छैन । असनमा पाइने बत्तिसा बत्तीसवटा जडीबुटी मिसाएर बनाइन्छ रे भन्नेचाहिँ सुनेको छु । आफैले चाहिँ प्रयोग गरेको छैन ।

हामी सानो हुँदा हजुरआमाले बनाउनु हुने सुत्केरी मसलाको सुगन्धले भान्छा नै सुवासित हुन्थ्यो । हामी पनि घुटुक्क थुक निल्दै सुत्केरी मसला कहिले पाक्छ भनेर हेरिरहन्थ्यौं। पाकेपछि हजुरआमाले एक–एक चम्चामात्रै चाख्न दिनुहुन्थ्यो । केटीहरूले यस्तो मसला धेरै खानु हुँदैन, पेटमा टाँसिन्छ’, हजुरआमाले तर्साउनु पनि हुन्थ्यो । डरसँगै सुत्केरी मसलाको स्वाद लिइन्थ्यो । ‘सुत्केरी मसला’ भनेर महिलासँंग जोडिएका हुनाले होला केटाहरूले यसको स्वाद लिएको चाहिँ मलाई थाहा छैन । पहिले–पहिले घरमा वा छिमेकी घरमा गर्भवती महिलाका लागि हजुरआमाले तयार पारेको सुत्केरी मसलाले महिलाको शरीरमा कति पौष्टिकता दिने रहेछ भन्ने धेरैपछि मात्र थाहा भयो ।

मेरी हजुरआमालाई चाहिँ परम्परागत ज्ञान प्रचुर थियो । सुत्केरी मसलाले सुत्केरीको शरीर तङग्रिन मद्दत गर्छ । सुत्केरीको स्तनबाट दूध निकाल्न मद्दत गर्छ । यसमा मिसाएका पौष्टिक तत्त्वले रगतको कमी हुन दिँदैन । यस्ता कुरा आफ्नो हजुरआमाबाट थाहा पाउनुभएकै होला । अहिले चाहिँ धेरै युवती सुत्केरी मसला खान रुचाउँदैनन् । सायद त्यसैले घर–घरमा बन्न पनि छाडे । अहिलेका नवआमाहरू त बट्टाको खानेकुरा खान रुचाउँछन् । ‘बट्टाको खानाले महिलाको हड्डी बलियो हुन्छ, रगतको कमी हुन दिँदैन’ भन्नेजस्ता झुटा विज्ञापनमा विश्वास गर्छन् ।

गुँदमा पाइने कार्वोहाइड्रेड, दूध, काजु, नरिवल र खुवामा पनि शक्तिका स्रोत हुन्छन् । मेथीले आमाको दूध निकाल्न मद्दत गर्छ र रगतको कमीबाट बचाउँछ । ध्यु शरीरमा चाहिने नै भयो, किनभने बोसो नभई त शरीरमा भिटामिन ए, डी र के राम्रोसँंग घुल्दैन । हेर्नोस् त हाम्रा पुर्खाहरू कति बुद्धिमान, भोजनलाई औषधि नै बनाइदिए । सायद आमालाई स्याहार गर्न उत्तम छ भनेर होला भोजनमा वास्ता नगरे पनि ‘औषधि’ भनेपछि घरका मान्छेले महिलालाई दिइहाल्छन् भनेर होला ।

सायद लैङ्गिक दृष्टिकोणले पनि सुत्केरी मसला बनाउन उत्प्रेरणा गरेका रहेछन् । यदि स्वादिष्ट र स्वस्थकर मात्रै भएको भए लोग्ने मानिसले नै खाइदिन्थे होलान्, तर उनीहरूले छोएनन्, सुत्केरी शब्द जोडिएपछि । सुत्केरी मसलाको घट्दै गइरहेको चलनले गर्दा परम्परागत स्वस्थकर खाना र त्योसँग जोडिएको महिलाको स्वास्थ्यबारे अब फेरि सिंहावलोकन गर्नुपर्छ । नत्र त केही समयपछि ती विदेशीहरूले सुत्केरी खानाको प्याकेट गरेर हामीलाई नै बेच्न सक्छन्, योगलाई ‘योगा’ बनाएर हामीलाई सिकाएझैं ।

१००–१५० रुपैयाँको १ किलो जौंको पिठो खानुको सट्टा १५०० किलो (१० गुणा महँंगो) बट्टाको खाना किनेर मुर्खतापूर्ण काम गर्छन् । यदि ती महिलाहरूले सुत्केरी मसला भनेको के हो रु यसमा कति पौष्टिक तत्त्व हुन्छ रु थाहा पाएका भए आफूमात्र होइन, सायद आफ्ना श्रीमानलाई पनि ख्वाउँथे होलान् । नाम सुत्केरी मसला भए पनि घरका सबै परिवारका लागि सूक्ष्म पौष्टिक प्रदान गर्ने वस्तु बन्थ्यो होला, सुत्केरी मसला । सायद पहिला–पहिला ‘सुत्केरी मसला’ नाम नदिएको भए घरका पुरुषले सबै खाइदिने डर थियो कि ? सुत्केरीले खाने भनेपछि त पुरुषले नछोओस् भनेर यो नाम दिइएको हो कि ?