३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एउटा आकांक्षी नेपाल र उदीयमान भारत कसरी पुनः जोडिन सक्छन्?

एउटा आकांक्षी नेपाल र उदीयमान भारत कसरी पुनः जोडिन सक्छन्?
रवि लामिछाने/ फाइल
अ+ अ-

गैर-दलीय व्यावसायिक र राजनीतिक क्षेत्रमा नयाँ व्यक्तिहरूद्वारा स्थापना गरिएको एउटा राजनीतिक दलले चार वर्षभन्दा कम अवधिमा संसदमा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गर्नु राजनीतिक इतिहासमा कुनै सामान्य घटना होइन। त्यसैले, नेपालमा के भइरहेको छ र यो देश कुन दिशातिर जाँदैछ भन्नेबारे विश्वव्यापी चासो हुनु पूर्ण रूपमा स्वाभाविक हो। एक हजार माइलभन्दा बढी साझा सिमाना भएको नजिकको छिमेकीका नाताले भारतमा यो चासो हुनु अझ बढी स्वाभाविक छ।

नेपालको रूपान्तरणको यो कथा सडक हिंसा, सैन्य कू, वैदेशिक हस्तक्षेप वा संवैधानिक रिक्तताद्वारा लेखिएको होइन। बरु, यो एउटा शान्तिपूर्ण र लोकतान्त्रिक “मतपेटिकाको क्रान्ति” हो। यस्तो समयमा जब धेरै समाजहरू ध्रुवीकरण, अख्तियारप्रतिको अविश्वास र भ्रष्ट राजनीतिले ग्रस्त छन् र गैर-लोकतान्त्रिक विकल्पहरूतर्फ ढल्कँदैछन्, नेपालले बहुलवादी समाजमा लोकतन्त्र परिवर्तनको एक शक्तिशाली माध्यम हो भन्ने प्रमाणित गरिदिएको छ।

आजको नेपाल कुनै अनिश्चित भविष्यतर्फ अघि बढिरहेको छैन; यसले थप समृद्ध र जीवन्त लोकतन्त्रको एक अत्यन्तै आकांक्षी दृष्टिकोणलाई अंगालिरहेको छ। हाम्रा मूल सिद्धान्तहरू सरल छन्: सुदृढ सुशासन र विकासमार्फत जनताप्रति प्रत्यक्ष जवाफदेहिता।

 नयाँ राजनीतिक वास्तविकता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको नयाँ राजनीतिक वास्तविकता हो—एउटा यस्तो युवा शक्ति जसले वर्षौँदेखि जकडिएको राजनीतिक प्रणालीलाई उल्ट्याउन नसकिने गरी चुनौती दिएको छ। यसले युवा पुस्तालाई परिणाममुखी (डेलिभरीमा आधारित) राजनीतिमा आबद्ध गराउँदै देशका लागि एउटा फरक दृष्टिकोण प्रस्तुत गरेको छ। हामी सजग छौँ कि रास्वपाले प्राप्त गरेको मत आक्रोश र आशा दुवैको सम्मिश्रण हो, जुन परिवर्तनका लागि प्राप्त एक अभूतपूर्व जनादेशमा बेरिएको छ। त्यही कारणले नै युवा, समावेशी र स्वच्छ छविका प्रतिभा निर्वाचित हुन सफल भए।

हाम्रो परराष्ट्र नीतिलाई रूपान्तरण गर्न आवश्यक पर्ने सबैभन्दा ठूलो सम्पत्ति अहिले हामीसँग छ: हामीसँग विगतको कुनै बोझ (Legacy Burden) छैन। हामी पुराना शत्रुता वा पूर्वाग्रहहरूबाट बाँधिएका छैनौँ। हामी जनताको स्तरमा सार्वभौम सन्धि र अनौपचारिक सम्बन्धहरूबाट बाँधिएका छौँ, तर विगतका नेताहरूका मसिना सौदाबाजी र गुप्त समझदारीहरूमा अल्झिएका छैनौँ। हामी भारत र बाँकी विश्वलाई खुला हृदय, स्पष्ट आँखा र पारदर्शी एजेन्डाका साथ हेर्छौँ, र त्यो एजेन्डा हो: नेपालको आर्थिक रूपान्तरण।

नेपाल र भारत केवल दुई देश मात्र होइनन्, हामी एउटा गौरवशाली, प्राचीन सभ्यताका साझेदार हौँ। रामको गाथा जनकपुर र अयोध्या जोडिएपछि मात्र पूर्ण हुन्छ। आस्था तब मात्र पूर्ण हुन्छ जब पशुपतिनाथ र केदारनाथलाई सँगै ल्याइन्छ। एउटा महान् सभ्यताको जग लुम्बिनी र बोधगयालाई जोडेर मात्र साकार हुन्छ।

यद्यपि, हामीसँग न त आत्म-रतिमा भुल्ने विलासिता छ, न त हामी आफ्ना कमजोरीहरूलाई घिसेपिटेका वाक्यांशहरू पछाडि लुकाउन चाहन्छौँ। हाम्रो सम्बन्धले के हासिल गर्‍यो भन्ने कुरालाई मात्रै हेर्नुको सट्टा, हामी यसले के हासिल गर्न सक्थ्यो—र यो के बन्न सक्छ भन्ने कुरामा केन्द्रित भएर एउटा नयाँ सुरुवात गर्न चाहन्छौँ।

सिमाना मात्र होइन, अर्थतन्त्रलाई जोड्ने

जब हामी सिमाना पारि हेर्छौँ, हामी एउटा यस्तो भारत देख्छौँ जसले आफूलाई पूर्ण रूपमा पुन:परिभाषित गरेको छ। पछिल्ला दशकहरूमा पुराना कर्मचारीतन्त्रीय बन्धनहरूबाट मुक्त हुँदै भारत सफलतापूर्वक यस ग्रहकै सबैभन्दा ठूला र तीव्र गतिमा बढिरहेका अर्थतन्त्रहरूमध्ये एक बनेको छ। यो एउटा यस्तो उपलब्धि हो जसलाई हामी सम्मान गर्छौँ, र त्यसैले हामी विकासमा साझेदार बन्न चाहन्छौँ।

भारत प्रतिदिन झन्डै १५ किलोमिटर रेलमार्ग निर्माण गर्दै मेट्रो र रेल विस्तारमा विश्वव्यापी लिडर बन्ने दिशामा अघि बढिरहँदा, प्रस्तावित रक्सौल-काठमाडौँ रेलमार्ग १५० किलोमिटरभन्दा कमको छ। जुन दिन त्यो १५० किलोमिटरको ट्र्याक जोडिनेछ, यसले हाम्रो बीचको व्यापार, पर्यटन, ढुवानी (लजिस्टिक) र क्षेत्रीय तहमा क्रान्ति ल्याउनेछ। नेपाल केवल सिमाना जोड्न मात्र चाहँदैन; यसले यी रेलमार्गहरू सिंगो अर्थतन्त्रलाई गति दिन प्रयोग होस् भन्ने चाहन्छ।

हामी केवल नयाँ दिल्लीतर्फ मात्र हेरिरहेका छैनौँ; हामी भारतका विभिन्न राज्यहरूमा भइरहेका गतिशील रूपान्तरणहरूलाई पनि नियालिरहेका छौँ।हामीले देखेका छौँ कि भारतको उड्डयन क्षेत्रले कसरी उचाइ लिएको छ: के हामी पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरु जस्ता चम्किला केन्द्रहरूमा सीधा उडानहरू सञ्चालन गर्न सक्दैनौँ? हामी आन्ध्र प्रदेश र तेलङ्गानाले आईटी (IT) मा कसरी फस्टाउँदो इकोसिस्टम निर्माण गरे भन्ने मात्र बुझ्न चाहँदैनौँ; के हामी ‘काठमाडौँ-बेंगलुरु डिजिटल करिडोर’ को परिकल्पना गर्न सक्दैनौँ? हामी गुजरातको औद्योगिक पूर्वाधारबाट प्रेरणा लिन्छौँ; के यसले हाम्रो करिडोरमा रासायनिक मल कारखाना स्थापना गर्न तत्काल सहकार्यका लागि प्रेरित गर्न सक्दैन?

हामी नेपालमा आईआईटी (IIT) र एम्स (AIIMS) जस्ता संस्थाहरूलाई स्वागत गर्न चाहन्छौँ। आज, नेपालले भारतका आईटी कम्पनीहरू, स्टार्टअप इकोसिस्टम र विश्वविद्यालयहरूलाई दृढताका साथ भन्न सक्छ: “हाम्रो देशमा इनोभेसन ल्याब, इन्क्युबेसन सेन्टर र टेक-हबहरू स्थापना गरेर हामीलाई नवप्रवर्तनमा आफ्नो साझेदार बनाउनुहोस्।” हामीलाई हाम्रो अत्यन्तै प्रतिभाशाली युवा पुस्ता, प्रचुर मात्रामा उपलब्ध स्वच्छ ऊर्जा र बढ्दो डिजिटल इकोसिस्टमप्रति गर्व छ, तर भारतको परिष्कृत प्राविधिक इकोसिस्टमबाट थोरै सहयोग पाउने हो भने यी क्षेत्रहरू पूर्ण रूपमा रूपान्तरित हुन सक्छन्। हामी डिजिटल भुक्तानी, फिनटेक र दुवै तर्फका साना उद्यमीहरूलाई सशक्त बनाउने क्रस-बोर्डर प्लेटफर्महरूमा सहकार्य गर्न चाहन्छौँ।

विकास कूटनीतितर्फ परिवर्तन

राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल-भारत सम्बन्धको सम्पूर्ण शब्दावलीलाई भूराजनीतिक टकरावबाट टाढा धकेल्दै दृढताका साथ “विकास कूटनीति” मा स्थापित गर्न चाहन्छ। हाम्रो मुख्य एजेन्डा कूटनीतिक नियोगहरूलाई लगानी, व्यापार र आर्थिक साझेदारीको इन्जिनमा रूपान्तरण गर्नु हो। हामी एउटा यस्तो सम्बन्ध चाहन्छौँ जसले दुवै देशका सर्वसाधारण नागरिकको दैनिक जीवनमा मापनयोग्य परिणामहरू दिन सकोस्।

नेपालको जलविद्युत क्षमता अब केवल आन्तरिक सम्पत्ति मात्र रहेन: यो उदयमान भारतका औद्योगिक करिडोरहरूलाई उर्जा दिने एक स्वच्छ र हरित इन्जिन हो। हामीले खण्डित क्रस-बोर्डर व्यापारबाट माथि उठेर एक सुदृढ र एकीकृत ऊर्जा बजारको दिशामा अघि बढ्न आवश्यक छ।

टमाटरको मूल्य वा मेसिनरीको ओसारपसार अब कर्मचारीतन्त्रीय झन्झट (Bottlenecks) द्वारा निर्देशित हुनु हुँदैन। हामीलाई आधुनिक, डिजिटलाइज्ड एकीकृत जाँच चौकी (ICPs) र उन्नत पारवहन करिडोरहरू चाहिन्छ जसले कडा सिमानाहरूलाई सहज पुलमा रूपान्तरण गरोस्।

हिमालयका चुचुराहरूदेखि लिएर जनकपुर, लुम्बिनी र बोधगयाका पवित्र सर्किटहरू सम्म, हाम्रो पर्यटन सम्भावनाहरू एकापसमा निर्भर छन्। हामीले यस्ता पर्यटन सर्किटहरू निर्माण गर्नुपर्छ जसले विश्वभरका पर्यटकहरूलाई कुनै प्रशासनिक अवरोधविना हाम्रो साझा सम्पदाको अनुभव गर्न सघाओस्।
हामीले भर्खरै अहमदाबादमा आईपीएल (IPL) को फाइनल खेल प्रत्यक्ष मात्र हेरेका छैनौँ; नेपाली खेलाडी र नेपाली रंगशालाहरूलाई आईपीएल फ्रेन्चाइजीमा कसरी समाहित गर्न सकिन्छ भन्नेबारे पनि गम्भीरतापूर्वक सोचिरहेका छौँ।

 आपसी विश्वासको जग निर्माण

कृषि, स्वास्थ्य सेवा, साइबर सुरक्षा र विपद् व्यवस्थापनलगायत अनगिन्ती क्षेत्रहरूमा सहकार्यको सम्भावना रहे तापनि, जुन जगमा यसको निर्माण हुनुपर्छ, त्यसलाई हामीले अझ बलियो बनाउन आवश्यक छ: र त्यो हो विश्वास।

हामी मुख्य समस्याहरूलाई गुमराहमा राखेर (Sweeping under the rug) साँचो मित्रता हासिल गर्न सक्दैनौँ। हामी यस्ता छिमेकी हौँ जसको सभ्यताको बन्धन मानव-निर्मित सिमानाहरू भन्दा हजारौँ वर्ष पुरानो छ। त्यसैले, हाम्रा हालसालैका विवादहरूलाई गिजोलिरहनु हुँदैन। तिनीहरूलाई ऐतिहासिक तथ्य र आपसी समझदारीको आधारमा समाधान गर्न सकिन्छ। हामी परम्परागत राजनीतिज्ञहरूले प्रयोग गर्ने उग्र-राष्ट्रवादी नाराबाजी (Ultra-nationalist rhetoric) लाई घृणा गर्छौँ। हामीले प्रस्ताव गरेको विकल्प प्रमाणमा आधारित संवाद र चुनावी जोडघटाउबाट मुक्त व्यावहारिक दृष्टिकोण हो।

एउटा स्थिर र समृद्ध नेपाल भारतको उत्तरी सिमानाका लागि प्राकृतिक सुरक्षा कवच (Guardrail) हो, जबकि राजनीतिक रूपमा विभाजित नेपालले भारतलाई आफ्नो छिमेकमा हुने अस्थिरताप्रति चिन्तित तुल्याउँछ। त्यसैले, नेपालको आर्थिक विकास भारतका लागि पनि एउटा रणनीतिक आवश्यकता हो।

ऐतिहासिक अवसर

इतिहासले कसैलाई पनि असीमित अवसरहरू दिँदैन; यसले छोटो अवधिका लागि ढोका खोल्ने गर्छ। यो क्षण—अहिले, सन् २०२६ को मध्य—नेपाल-भारत सम्बन्धलाई पूर्ण रूपमा रिसेट गर्न र नयाँ उचाइमा पुर्‍याउन दशकौँमा देखिएको सबैभन्दा अनुकूल अवसर (Window) हो।

विगत ३० वर्षको अस्थिरता र भ्रष्टाचारयुक्त नेपाल अब इतिहास भइसकेको छ। हामी अरू के लिएर आएका छौँ? युवा सचेत मतदाताहरूको बलियो जनादेश, जसले राजनीतिक सम्झौता (Patch-ups) को भाषा होइन, कर्पोरेट कार्यन्वयनको भाषा बोल्ने व्यावसायिक नेतृत्वलाई चुनेका छन्। हामी नीतिगत निरन्तरता, पारदर्शिता र इमानदारिताको प्रतिवद्धता व्यक्त गर्दछौँ। रास्वपा नेतृत्व तयार छ किनभने नेपालका जनता तयार छन्। आउनुहोस्, विगतका चिन्ताहरूद्वारा होइन, बरु साझा भविष्यका असीम सम्भावनाहरूद्वारा परिभाषित साझेदारीको निर्माण गरौँ।

हामीले सम्बन्धलाई पुन: परिभाषित र प्रगाढ बनाउन खोज्दा हामीसँग एउटा ऐतिहासिक सन्दर्भ छ: अगस्ट ३, २०१४। त्यस दिन प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदलाई मात्र सम्बोधन गर्नुभएको थिएन; उहाँ नेपाली जनतासँग प्रत्यक्ष अन्तर्क्रिया गर्न सडकमा समेत ओर्लिनुभएको थियो। उहाँले हाम्रो सम्बन्ध हिमाल र गङ्गा जत्तिकै प्राचीन रहेको र यो केवल कागजी दस्तावेजहरू भन्दा धेरै माथि रहेको कुरा स्नेहपूर्वक व्यक्त गर्नुभएको थियो। हाम्रा सिमानाहरू अवरोध होइन, बरु पुल बन्नुपर्छ भन्ने साझा दृष्टिकोणमा जोड दिने उहाँ नै हुनुहुन्थ्यो।

त्यसयता बागमती र गङ्गामा धेरै पानी बगिसकेको छ। यी नदीहरूले पहाडहरूसँग सम्झौता गर्दैनन्; तिनीहरू केवल आफ्नो बाटो पहिल्याउँछन्—र हामी पनि त्यसै गर्नेछौँ। त्यो अगस्टको दिनको विश्वास र न्यानोपनमा फर्कनुको विकल्प हामीसँग छैन। र हामी फर्कनेछौँ—पूर्ण इमानदारिताका साथ, र नयाँ सम्भावनाहरूलाई आत्मसात् गर्न तथा पुराना मतभेदहरूलाई पखाल्नका लागि प्रतिवद्धता गरिएको त्यो पुल निर्माणको पहिलो ढुङ्गा बोक्ने व्यावहारिकतातका साथ ।

रवि लामिछाने रास्वपका संस्थापक सभापति तथा नेपालका पूर्व उपप्रधानमन्त्री हुन्। व्यक्त विचारहरू निजी हुन्  । हाल भारत भ्रमणमा रहनु भएका लामिछानेको हिंदुस्तान टाइम्समा प्रकाशित बिचार