१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभा सामूहिक हत्या प्रकरणः परिवारै मिलेर अर्को परिवारको हत्या !



अ+ अ-

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको ६ जनाको सामूहिक हत्यामा नयाँ ट्विस्ट आएको छ । उक्त घटनामा एकै परिवारका तीनसहित पाँचजनाको प्रत्यक्ष संलग्नता रहेको नयाँ तथ्य प्रहरीले बाहिर ल्याएको छ भने उनीहरू सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कार्कीले पनि आफू एक्लैले ६ जनाको हत्या गरेको बयान दिएका थिए । तर अनुसन्धानका क्रममा थप ४ जनाको संलग्नता देखिएको छ ।

२१ भदौमा तेजबहादुरसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो । २७ भदौमा मृतक परिवारका आफन्त (भतिजो) लोकबहादुर कार्कीलाई पक्राउ गर्दै एक्ला अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । 

प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण बीसीले ठूलाबा तेजकुमारको व्यवहारका कारण अभियुक्तको मनमा घृणाभाव रहेको र घटना भएको दिन बिहानै उठाउँदा अचानक आवेशमा आएर घटना घटाएको देखिएको पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए ।

घटना अनुसन्धानमा नयाँ ट्वीस्ट ल्याउँदै प्रहरीले लोकबहादुरका काका ४६ वर्षीय खड्गबहादुर कार्कीलाई घटनाको प्रमुख योजनाकार ठहर गरेको छ । साथै, उनका बुबा ४९ वर्षीय रणबहादुर कार्की, भाइ १७ वर्षीय नरेश कार्की र खड्गबहादुरका छोरा २८ वर्षीय हस्तबहादुर पनि घटनामा संलग्न पाइएको बताएको छ । लोकबहादुरको बयानका आधारमा चारजनालाई पक्राउ गरिएको हो । 

मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धानले नयाँ ढंगले मोडियो । त्यसपछि प्रहरी टोली थप अनुसन्धानका लागि फेरि घटनास्थल पुगेको थियो । प्रदेश प्रहरी प्रमुख विसीको निर्देशनमा संघीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा संयुक्त अनुसन्धान टोली थप अनुसन्धानमा जुटेको थियो ।

प्रहरीको अनुसन्धानबाट घटना योजनावद्ध ढंगले गराइएको खुल्नमा आएको छ । हत्याकाण्डको अघिल्लो रात करिब ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्तबहादुर कार्की, लोकबहादुर कार्की, नरेश कार्कीसहित बसेर योजना बनाएका थिए ।

प्रहरीले भनेको छ, ‘पूर्व योजनाअनुसार नै खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा गएको र लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नु भनेको, तेजबहादुर लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर घर पछाडि चिर्पट बोकेर तयारी हालतमा बसेको ।’

प्रहरीका अनुसार तेजबहादुरले कराएपछि लोकबहादुर उठेको र योजनाअनुसार चिर्पट र चक्कु बोकेर घरतिर फर्किएका ठूलोबालाई पछ्याएका थिए । उनले गोगनेको रुख नजिक पुगेपछि टाउकोमा चिर्पटले हाने । खड्गबहादुरले पनि चिर्पटले हाने भने हस्तबहादुरले चिर्पटका साथै चक्कुले पेटमा हानेर डिलबाट लडाएको प्रहरीको दाबी छ ।

त्यसपछि तेजबहादुरले लोकेले मार्‍यो भनेर कराएपछि उनकी पत्नी कमला र बुहारी रञ्जना आएका थिए । लोकबहादुरले कमलालाई चिर्पट हानेको र हस्तबहादुरले छुरा प्रहार गरेका थिए । नरेशले रञ्जनालाई ठेलेर खोल्सामा झरेको र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिलेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

नाबालक दीपेन र गोमालाई हस्तबहादुर र लोकबहादुरले बाटो छेकेर मुख थुनि चिर्पटले हिर्काउनुका साथै घाँटी बटारेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । 

त्यसपछि पाँचै जना अभियुक्तहरू मृतकको घरतर्फ गए । घरमा ८४ वर्षीय पार्वती कार्की मकै नंग्याइरहेकी थिइन् । हस्तबहादुरले उनलाई समातेर घरपछाडिको गोठ नजिक लगे भने लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले लोकबहादुर घरमा गएको र कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीलाई टाउको भित्तामा ठोक्काएर हत्या गरेको बताएको थियो ।

घटनापछि सबैजना हत्यामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोकबहादुरको घरमा पुगेको । रगत लागेको छुरी पखालेर बुईंगलमा लुकाएको र चिर्पटहरू अँगेनामा डढाई रगत लागेका कपडाहरू समेत लुकाएको प्रहरीले भनेको छ ।

त्यसपछि उनीहरु फेरि भेला भएर कसैले सोधे केही थाहा नभएको भन्ने र प्रहरीले पत्ता लगाए लोकबहादुरले मानसिक औषधि खाने गरेकाले उनले जिम्मा लिने सल्लाह भएको प्रहरीको दाबी छ ।

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको बताउँदै प्रहरीले घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत वरामद गरि थप अनुसन्धान जारी राखेको जनाएको छ । 

प्रहरीले यसअघि घटनाको कारण व्यक्ति रिसिइबी भनेपनि अहिले पारिवारिक रिसिइबीले घटना घटाइएको बताएको छ  । २७ भदौमा प्रहरीले बताए अनुसार तेजबहादुरले लोकबहादुरलाई अल्छी, पागल भनेर गाली गर्ने गरेको र घटना भएको दिन पनि गाली गरेपछि आवेशमा आएर घटना घटाएको प्रहरीले जानकारी दिएको थियो । 

तर अहिले तेजबहादुरसँग अरु अभियुक्तको पनि रिस रहेको र मिलेर हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले अहिले बताएअनुसार अभियुक्तमध्ये एक खड्गबहादुर मादक पदार्थ सेवन गरेर घर परिवारमा झगडा गर्थे, तेजबहादुर उनलाई थाली गर्थे । त्यसबेला नै उनले तलाईं मार्छु भनेको प्रहरीको दाबी छ ।

रणबहादुर र उनका छोरा नरेशलाई पनि केही गर्न सक्दैनन् भनेर भन्ने गरेको र उनीहरुले जहिले पनि हेप्ने भनेर मनमा ईख पालेकाले घटना घटाएको प्रहरीको निष्कर्ष छ ।

गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।