१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातले यार्सागुम्बा सङ्कलन रोकियो



फाईल फोटो
अ+ अ-

मनाङ । औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा सङ्कलनका लागि खर्कमा पुगेका सङ्कलक फर्किएका हुन् ।

हिमपातले गर्दा यार्सागुम्बा सङ्कलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताउनुभयो । “मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा सङ्कलन गर्न नसकेर बेँसीतर्फ फर्र्किएका हौँ, ठेक्कामा काम गर्न यहाँ आएका हौँ”, उहाँले भन्नुभयो ।

नार्फुको हुलाबाट लेकमा यार्सागुम्बा सङ्कलन गर्ने गरेको धादिङ रिहीका ४६ वर्षीय एक्का तामाङले बताउनुभयो । दैनिक नौ–दशवटा यार्सागुम्बा सङ्कलन गर्न सकिने उहाँले बताउनुभयो । “एक दिनको पैदलयात्रा गरी चैतदेखि यार्सागुम्बा सङ्कलनका लागि मनाङ आएका हौँ । लेकमा बसेको साढे एक महिना भयो । यार्सा ठेकेदारले लिने र चार जनाका लागि रु साढे चार लाख खर्च गरेको छ”, उहाँले भन्नुभयो, “पिसको रु ४०० मा ठेकेदारले लिन्छन् । पूर्जी र रासनको खर्च पुग्ने गरी सङ्कलन गरेको छु । गत वर्ष भने घाटा भएको थियो ।”

डेढ महिनामा २०० यार्सागुम्बा सङ्कलन गरेको उहाँ बताउनुहुन्छ । ठेकेदारले राम्रो प्रकारको यार्सागुम्बामात्रै खरिद गर्ने उहाँले बताउनुभयो । यार्सागुम्बा टिप्ने समयमा मात्रै मनाङ आउने गरेको तामाङले बताउनुभयो । रासन सकिएपछि लिन आएको र हिउँ परेपछि यार्सागुम्बा सङ्कलन गर्न सकस भएकाले बेँसी फर्र्किएको उहाँ बताउनुहुन्छ ।

आफैँले खाना बनाएर खाने र ओढारमा बसेर यार्सागुम्बा सङ्कलन गर्ने गरेको तामाङले बताउनुभयो । धादिङका १९ जनालाई यार्सागुम्बा सङ्कलन गर्नका लागि ठेकेदारले रु ४२ लाख पूर्जी काटेको सोही ठाउँका ३० वर्षीय एसु तामाङले बताउनुभयो । हालसम्म ५२० यार्सागुम्बा सङ्कलन गरेको उहाँले बताउनुभयो ।

ठेकेदारले यार्सागुम्बा सङ्कलकलाई प्रतिगोटा रु ४०० दिने गरेको एसुले बताउनुभयो । यार्सागुम्बा सङ्कलन गरी भएको आम्दानीले घरपरिवारको आवश्यकता पूर्ति गर्न उपयोग गर्ने उहाँहरू बताउनुहुन्छ । तान्जो खर्कमा हिउँ पर्नुका साथै खाद्यान्न सकिएपछि सामग्री लिन चामे झरेको सोही ठाउँका रोहित तामाङ बताउनुहुन्छ । “ठेकेदारले राम्रो खालको यार्सागुम्बालाई प्रतिगोटा रु ४०० दिन्छ । खर्कमा नै ठेकेदारले लैजाने र रकम लिन्छौँ”, रोहितले भन्नुभयो ।

केही खर्कमा चैत पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय हो भने केही स्थानमा असारको पहिलो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्न सकिन्छ । यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात र खाद्यान्न लिएर पुनः खर्कतर्फ जाने उनीहरू बताउँछन् ।

विशेषगरी यस मौसममा औषधिजन्य जडीबुटी सङ्कलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयका रूपमा लिइन्छ । औषधिजन्य जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो ।

बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा सङ्कलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ । जडीबुटी सङ्कलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । यार्सा सङ्कलनका लागि जिल्लावासीमात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन् ।

नाम्केखर्कबाट सुरु हुन्छ भने नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा यार्सा सङ्कलन कार्य सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसारको पहिलो हप्तासम्म औषधिजन्य जडीबुटी सङ्कलन गर्न सकिने समय हो । वैशाख १५ देखि असारको पहिलो सातासम्म औषधिजन्य जडीबुटी सङ्कलन गरी बेँसीतर्फ यार्सागुम्बा सङ्कलक फर्किने छन् ।

मनाङवासीले यहाँको नागरिकता वा बसाइँसराइ भएमा बसाइँसराइको प्रमाणपत्र समितिमा संलग्न राखी यार्सा सङ्कलन पूर्जी दिनेछ । संस्थामार्फत यार्सा सङ्कलन गरिँदै छ भने आर्थिक वर्ष २०७७÷७८ का लागि दिइएको सङ्कलन पूर्जी उपलब्ध गराउने उहाँले बताउनुभयो । यार्सा सङ्कलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकतानुसार नार, फुलगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने र अन्य सुरक्षा निकायले सहयोग गर्ने उहाँले बताउनुभयो ।

यार्सागुम्बा सङ्कलन गरेको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र, सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिन अनुरोध गरिएको गौतमले बताउनुभयो । उहाँका अनुसार यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० वटा यार्सागुम्बामा एकवटा यार्सागुम्बा छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्यरूपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र ९मोबाइलमा भए पनि खोपकार्ड० लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरिएको छ ।

गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको थियो । यस वर्ष जडीबुटी सङ्कलन भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । विगतमा जेठ अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय तोकिएको भए पनि यस वर्ष निर्वाचनका लागि केही समय रोक लगाइएको हुँदा असारको पहिलो हप्तासम्म सङ्कलन गर्न दिने निर्णय भएको छ ।
नविल लामिछाने / रासस