२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

इच्छाकामनामा असिनाले तरकारी र मकै बाली नष्ट



अ+ अ-

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका २ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पुर्याएको छ । बुधबार आएको असिनापानीले वडा नं २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पुर्याएको हो ।

बेच्ने बेला भएको तकारी बाली असिनापानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । मायाटारका राजबहादुर प्रजाले आफ्नो बारीमा लगाएको रु एक लाख ५० हजार मूल्य बराबरको तरकारी बाली नष्ट भएको बताउनुभयो । एकदिन अघि मात्र केही काँक्रो बेच्न भ्याउनुभएका प्रजाले धेरैजसो बाँकी रहेको काँक्रो असिनापानीले नष्ट गरिदिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “हिजो मात्र केही बेचेँ धेरैजसो काँक्रो बेच्न बाँकी नै थियो, सबै नष्ट भयो, बेच्ने बेला भएको काँक्रो, बोडी, सिमी र खुर्सानी गरी रु एक लाख ५० हजार बढी मूल्य बराबरको तरकारी बाली नष्ट भएको छ ।” कृषक प्रजाका अनुसार मायाटार र दुम्किम गाउँमा रहेका ४५ घरधुरीमध्ये २५ भन्दा बढी परिवारले तरकारी खेती गरेका छन् । तरकारी खेतीबाट जीवन निर्वाह गर्दै आएका किसान चिन्तित बनेका छन् । असिना पानीले मकै बाली पनि नष्ट गरेकाले चाँडै अनिकाल लाग्ने उहाँले बताउनुभयो ।

प्रजाले भन्नुभयो, “राम्रोसँग मकै खेती हुँदा छ महिनासम्म खान पुग्थ्यो तर यस पटक चाँडै अनिकाल लाग्ने भयो, घोगा लागेको धेरैजसो मकै नष्ट भएको छ, दुई महिनामै अनिकाल लाग्ने भएको छ । ”

गाउँपालिकाका कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले अहिलेसम्म गाउँपालिकाभरका किसनाले लगाएको तरकारी र मकैबालीमा असिना पानीले कति क्षति पुर्यायो भन्ने एकीन तथ्याङ्क आइनसकेको बताउनुभयो । अहिले कहाँ कति क्षति भयो किसानसँग सम्पर्क गर्ने काम भइरहेको उहाँको भनाइ थियो । शाखाप्रमुख घिमिरेले गाउँपालिकाले बजेटको व्यवस्था गर्दा पनि किसानले तरकारी बालीको बीमा गर्न रुचि नदेखाउँदा समस्या भएको बताउनुभयो । तरकारी बालीका लागि प्रक्रिया झझन्टिलो हुँदा बीमा गर्न किसान र बीमा कम्पनीले नै चासो नदेखाएको उहाँले जानकारी दिनुभयो ।

शाखाप्रमुख घिमिरेले भन्नुभयो, “हामीले अभियान नै चलायौँ, गत वर्ष गाउँपालिकाले नै केही बजेटको व्यवस्था पनि गरेको थियो, बीमा गर्ने भनिएका सम्बन्धित बीमा कम्पनी नै आएनन् , तरकारी बालीको बीमा गर्न पशुमा जस्तो सजिलो छैन, त्यस कारणले किसान र बीमा कम्पनीले चासो नदेखाएका हुन ।” गाउँपालिकाका अधिकांश किसान तरकारी र मकैबालीमा निर्भर छन् ।