११ भाद्र २०८३, बिहीबार
,
Latest
पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीका दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी



अ+ अ-

रुपन्देही । रुपन्देहीमा दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छ । १६ स्थानीय तह रहेको जिल्लामा तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

तिलोत्तमामा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट आशाकुमारी चौधरीले प्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । रूपन्देहीको जिल्ला कमिटी सचिवालय सदस्य रहनुभएकी ४३ वर्षीया उहाँ अखिल नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्ष पनि हुनुहुन्छ । तिलोत्तमा १३ मडहा घर भएकी उहाँ व्यवसायी हुनुहुन्छ ।

विसं २०५६ मा नेकपा (एमाले)को सदस्य बनेर पार्टीमा सक्रिय रहनुभएकी उहाँ पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लाग्नुभएको हो । उम्मेदवार चौधरीले बेरोजगार युवालाई सीपमूलक तालिमका साथै महिलाको हक र अधिकार र सशक्तीकरणका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी दिनुभयो । उहाँले शिक्षा, रोजगारी र स्वास्थ्यका एजेण्डा लिएर जनतासामु जाने बताउनुभयो ।

यसैगरी लुम्बिनीमा लामो समयदेखि समाजसेवामा सक्रिय रमावती यादवले एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । दयाराम हेल्थ फाउण्डेशनका उपाध्यक्ष रहनुभएकी उहाँले लुम्बिनी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।

लुम्बिनी सांस्कृतिक–१ निवासी यादवले सामाजिक सेवामा क्रियाशील रहँदा नागरिकको मनोभावना राम्रोसँग बुझ्ने मौका पाएकाले सोहीअनुसार काम गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । महिलामाथिको विभेद अन्त्य, महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा र रोजगारी सुनिश्चित गरी भौतिक विकास र मानवीय विकासको सन्तुलन मिलाएर नगरको विकासको योजना लिएर चुनावी मैदानमा गएको प्रतिक्रिया दिनुभयो ।