१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

गरियो लक्ष्मी पूजा

गरियो लक्ष्मी पूजा
अ अ+ अ-

 काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।

आजको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवं अबीरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइ पूजा गरिने परम्परा छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसाको पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ । लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

घरका अलावा व्यापारिक प्रतिष्ठानमा आज विधिपूर्वक लक्ष्मी पूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख शहर उज्यालोले झिलिमिलि बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी नै चहलपहल देखिए पनि कोरोना महामारीका कारण विगत वर्षमा जस्तो भने मानिस बजारमा निस्किएका छैनन् ।

आज साँझ युवतीहरु समूह बनाई घर घरमा भैलो खेल्छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
  
“भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”, उहाँले भन्नुभयो ।   कर्णाली प्रदेशका स्थानीयवासी मनोहर लामिछाने खसराज्यमा शासन गरेका बलिराजाले नै भैलोको चलन चलाएको भनी त्यस क्षेत्रमा चर्चा हुने गरेको बताउनुहुन्छ । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी समेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । रासस