८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुन फोटोले गणतन्त्रको धज्जी उडायो !



अ+ अ-

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैँको टीका लगाइदिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । फोटोमा राष्ट्रपति भण्डारी पहिलेका राजा महाराजा जस्तो रवाफी शैलीमा सोफामा हुनुहुन्छ । पराजुली राजा महाराजाको हातबाट टीका थाप्न पुग्ने सर्वसाधारण नागरिकझैं दुवै घुँडा टेकेर बस्नुभएको छ । मन्द मुस्कानसहित राष्ट्रपतिले टीका लगाइदिनुभएको छ, उस्तै मुस्कानमा पराजुलीले टीका र आशीर्वाद थापिरहनुभएको छ ।

पराजुलीले मात्र होइन, उपराष्ट्रपति र प्रधानमन्त्री बाहेक राष्ट्रपतिकोमा टीका थाप्न जाने सबैले यसैगरी घुँडा टेक्नुपर्यो । टीका लगाउन जानेहरुले राष्ट्रपतिलाई पहिलेका राजा महाराजा होईन, आफूजस्तै एक, तर विशिष्ठ नागरिक सम्झेका थिए । तर राष्ट्रपति भने दरबारी रवाफमा देखिनु भयो । यो उहाँको आफ्नो चाहना हो वा राष्ट्रपति कार्यालयको व्यवस्थापन गर्नेहरुको चाहना हो भन्ने कुरा त थाहा हुँदै जाला, तर टीका थाप्ने र लाउनेको दृश्य हेर्दा राष्ट्रपतिको अघिल्तिर सबैले घुँडा टेकून् भन्ने कसै न कसैको चाहना छ भन्ने चाहिँ स्पष्टै बुझियो ।

टीका लगाइ दिने राष्ट्रपति सोफामा बस्नुभएको थियो । उहाँको दाहिनेतिर अक्षता र जमरा भएको थाली थियो । राष्ट्रपतिको अघिल्तिर पनि बस्ने कुर्सी वा होचो मेच सम्म भएको भए टीका थाप्नेहरुले घुँडा टेक्नुपर्ने थिएन । उपराष्ट्रपति र प्रधानमन्त्रीले टीका थाप्ने बेला चाहिँ यसैगरी कुुर्सी राखिएको थियो । त्यसैले टीका लगाउनेबेला उनीहरुले घुँडा टेक्नुपरेन ।

तर उपराष्ट्रपति र प्रधानमन्त्री बाहेकका नागरिकले टीका लगाउने बेला कुर्सी त थिएन नै । एउटा मुढा, पिर्का वा मेच पनि राखिएन । बस्ने कुर्सी नभएपछि सोफामा बस्नुभएकी राष्ट्रपतिको हातबाट टीका लगाउँदा कि उभिएरै निहुरिनु पर्दथ्यो, कि घुँडा नै टेक्नुपर्दथ्यो । निहुरिनुभन्दा घुँडा टेक्न सजिलो भयो । अरुले जस्तै पराजुलीले पनि यसै गर्नुभयो ।

राष्ट्रपति, उहाँका सल्लाहकार तथा सहयोगीहरुलाई यो दृश्य सामान्य लाग्यो होला । तर देख्ने, सुन्ने र भोग्नेहरुका लागि यो पहिलेका राजा महाराजाहरुकै पालाको रवाफी शैली हो ।

उपराष्ट्रपति र प्रधानमन्त्रीले टीका थाप्ने बेला बसेको कुर्सीमा अरु बस्न हुँदैन भन्ने लागेको भए अर्को कुर्सी राख्न सकिन्थ्यो । के त्यहाँ सबै नागरिक आफ्नो टाउको निहुराउन मात्र गएका थिए ? के नेपालको राष्ट्रपति संस्थाप्रति आस्था भएर टीको लाउन जाने कोही थिएनन् ? के गणतन्त्रको राष्ट्रपतिबाट टीका लाउन जाने नागरिकले यसैगरी निहुरिनु पर्छ भन्न खोजिएको हो ?

अथवा राष्ट्रपति भनेको पहिलेका राजा महाराजाकै निरन्तरता हो र त्यही शैलीमा टीका लगाइदिनुपर्छ भन्ने हो ? राष्ट्रपतिको नजिक पर्दा निहुरिनु या घुँडा टेक्नुपर्छ ? जनबलमा आएको गणतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री र नागरिकको टाउकोको पनि अलग अलग स्थान हुन्छ ? राष्ट्रपति र प्रधानमन्त्रीले पहिलेकै राजाहरुको शैली र रवाफ देखाउने हो भने परिवर्तन किन र कसका लागि ?

पराजुलीले घुँडा टेकेर राष्ट्रपतिको हातबाट टीका लगाएको फोटो देख्दा धेरैको मनमा यस्तै प्रश्न उब्जेको छ । दोस्रोपटक राष्ट्रपति चयन भएपछि भण्डारीले प्रधानन्यायाधीशको हैसियतमा पराजुलीबाटै राष्ट्रपतिको पद तथा गोपनियताको शपथ लिनुभएको हो । पराजुली प्रधानन्यायाधीशबाट पदमुक्त हुनुभयो । तर पदमुक्त भए पनि आफूलाई शपथ खुवाउने मान्छेलाई घुँडा टेकाएर टीका लगाइदिंदा राष्ट्रपति भण्डारीलाई पनि अप्ठ्यारो लाग्नुपर्ने हो । पराजुलीलाई मात्र होइन, अरु नागरिकलाई पनि यस्तो शैलीमा टीका र आशीर्वाद दिंदा आफ्नो पनि शीर निहुरियो भन्ने हेक्का उहाँलाई हुनुपर्ने हो । तर फोटो हेर्दा उहाँलाई अलिकति पनि यस्तो लागेको देखिंदैन ।

घुँडा टेकेको र निहुरिएको मान्छेलाई टीका लगाईदिंदा आफ्नो पनि शीर निहुरिन्छ, राष्ट्रपतिको पनि निहुरिएको छ । राष्ट्रपति भण्डारी सर्वसाधारण नागरिककै छोरी हुनुहुन्छ । नागरिकले नै भोट दिएर पठाएका जनप्रतिनिधिले उहाँलाई राष्ट्रपतिमा चयन गरेका हुन् । उहाँ पहिलेका राजा महाराजाको सन्तान होईन र उहाँले त्यसो गर्न आवश्यक पनि छैन । जानेर या नजानेर राजा महाराजाहरुको शैली र रवाफ उहाँले देखाउन मिल्दैन । तर दसैँको यो फोटोले उहाँबाट यस्तै रवाफ देखाएको देखियो ।

राष्ट्रपतिबाट जानेरै यस्तो भएको होइन होला । सल्लाहकार र सहयोगीको ध्यान नपुग्दा राष्ट्रपति फेरि विवादमा तानिनुभएको छ । राष्ट्रपतिको ध्यान नपुग्ने यस्तै कुरामा सहयोग तथा सल्लाह दिने काम सल्लाहकार र सहयोगीको हो । चर्चित मानव अधिकारकर्मीदेखि नियमकानुनका ज्ञाता नै राष्ट्रपतिका सल्लाहकार छन् । तर टीकाका दिनको फोटो हेर्दा त, राष्ट्रपति कार्यालयमा हुने सामान्य कार्यक्रमको व्यवस्थापन गर्नको लागि उचित सल्लाह समेत दिन उनीहरु चुकेका छन् ।

टीका लगाइदिंदा सामान्य कुराको पनि ख्याल नगर्ने राष्ट्रपति र उहाँलाई उचित रायसल्लाह दिने जिम्मेवारी पाएका सल्लाहकार तथा सहयोगीले बुझ्नुपर्छ – पराजुली र सर्वसाधारण नागरिकको शीर निहुर्‌याएर र घुँडा टेक्न लगाएर तिनीहरुको टाउको निहुरिने अवस्थामा देशको राष्ट्रपतिको पनि शीर ठाडो हुँदैन ।