१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोडरिचलाई बालन डी अर



अ+ अ-

काठमाडाैं, १७ मंसिर । रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने क्रोएसियाली मिडफिल्डर ३३ वर्षीय लुका मोडरिचले बालन डी अरकाे उपाधि जितेका छन् । याे जितसँगै अर्जेन्टिनाका लियोनेल मेसी र पाेर्चुगलका क्रिस्टियानो रोनाल्डोको एक दशकदेखिको दबदबा अन्त्य भएकाे छ ।

रुसमा सम्पन्न गत विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्‍याउन मुख्य भूमिका खेलेका थिए । रियलबाट लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा माेडरिच पनि एक प्रमुख खेलाडी थिए । २००७ मा ब्राजिल तथा एसी मिलानका तत्कालिन फरवार्ड काकाले जितेयता बालन डी अरमा मेसी र रोनाल्डोवाहेक अरु खेलाडीले जित्न सकेका थिएनन् । यसबीचमा मेसी र रोनाल्डोले समान पाँच/पाँच पटक बालन डी अरको उपाधि जितेका थिए ।

गएराति भएकाे भव्य समाराेहमा महान खेलाडी रोनाल्डोलाइ  उपविजेता घाेषित गरियाे । रोनाल्डो यसै सिजनको सुरुआतमा रियल छोडेर इटालियन च्याम्पियन युभेन्टससँग अनुबन्ध भएका छन् । यसैगरी बार्सिलोनाका फरवार्ड मेसी भने पाँचौं भए । फ्रान्सले रुस विश्वकपमा उपाधि जित्दाका मुख्य नायकहरु एट्लेटिको मड्रिडका एन्टाेनी ग्रिजम्यान तेस्रो भए भने पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रतिभावान युवा खेलाडी किलियन एमबाप्पे चौथो भए ।

गत सिजन उत्कृष्ट लयमा रहेका मोडरिचले सेप्टेम्बरमा सम्पन्न फिफा फुटबल अवार्डमा सर्बोत्कृष्ट खेलाडीको पुरस्कार जितेका थिए । त्यसअघि विश्वकपमा उनले सर्बोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल पाएका थिए । वर्षमा तेस्रो ठूलो उपाधि जितेपछि मोडरिचले अवार्ड पछिल्लो १० वर्ष मेसी र रोनाल्डोको दबदबा हुँदा उपाधिबाट विमुख भएका अन्य खेलाडीमा समर्पण गरे ।

“सायद पछिल्ला वर्षहरुमा पनि केही खेलाडी यो पुरस्करको हकदार थिए होलान । सायद जाभी, आन्द्रियास इनियस्टा वा वेस्ले स्नाइडरजस्ता खेलाडीले बालन डी अर जित्न सक्थे । अन्ततः मेसी र रोनाल्डोभन्दा बाहेककाले सफलता हासिल गरेको छ,” बीबीसीसँग उनले भनेका छन्, “अवार्डको हकदार भएर पनि नजित्ने सबै खेलाडीमा म यो अवार्ड समर्पण गर्न चाहन्छु । मेरा लागि यो साच्चै विशेष वर्ष रहयो । यो मेरा लागि अत्यन्तै विशेष छ । यो अवसरमा आफ्ना भावना बाढनका लागि मसँग सायद शब्द पर्याप्त हुँदैन ।”

मोडरिचले रोनाल्डो र मेसी साच्चै असाधारण खेलाडी भएको बताउँदै थपे, “यसपाली जित्नु भनेको मैले मैदानमा यो वर्ष पक्कै पनि केही विशेष प्रदर्शन गरेको हुनुपर्छ । त्यसैले २०१७–१८ मेरो वर्ष रहयो ।”

बालन डी अरका लागि मनोनयनमा रहेका ३० खेलाडीमध्ये रियालबाटमात्र मोडरिचसहित आठ खेलाडी थिए । जसमा वेल्सका अन्तर्राष्ट्रिय स्ट्राइकर गारेथ बेल १७औं भए ।

बालन डी अरमा पहिलो पटक महिला विधा थपिएकाे थियाे । याे उपाधि नर्वेकी २३ वर्षे स्ट्राइकर एडा हेगेरबर्गले अवार्ड जितिन । यसैगरी १९ वर्षे एम्बाप्पे पहिलो पटक समावेश यु–२१ विधातर्फको कोपा ट्रफिको हकदार बने ।

बालन डी अरका शीर्ष १० :

१. लुका मोडरिच (रियाल मड्रिड/क्रोएसिया)

२. क्रिस्टियानो रोनाल्डो (युभेन्टस/पोर्चुगल)

३. एन्टोनी ग्रिजम्यान (एट्लेटिको मड्रिड/फ्रान्स)

४. किलियन एमबाप्पे (पिएसजी/फ्रान्स)

५. लियोनेल मेसी (बार्सिलोना/अर्जेन्टिना)

६. मोहम्मद सालाह (लिभरपुल/इजिप्ट)

७. राफेल भाराने (रियाल मड्रिड/फ्रान्स)

८. इडेन हाजार्ड (चेल्सी/बेल्जियम)

९. केभिन डी ब्रुयना (म्यानचेस्टर सिटी, बेल्जियम)

१०. ह्यारी केन (टोटेनह्याम/इङल्यान्ड)

(एजेन्सीकाे सहयाेगमा)