एडिलेड । भारत र अस्ट्रेलियाबीचको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा भारत छ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २९८ रन बनाएको थियो ।
जितका लागि २९९ रनको लक्ष पछ्याएको भारतले ४ विकेटको क्षतिमा आफ्नो लक्ष पुरा गरेको थियो । भारतका लागि कप्तान बिराट कोहलीले १०४ र एम.एस धोनीले अविजित ५५ रन बनाएका थिए । यसअघि अस्ट्रेलियाका लागि सन मार्सले १३१ रन तथा ग्लेन म्याक्सवेलले ४८ रन बनाएका थिए ।
भारत विजय भएसँगै तीन खेलको शृङ्खलामा अस्ट्रेलिया र भारत एक–एकको स्थितिमा पुगेको छ ।
विराट कोहलीको कप्तानीमा रहेको भारतलाई पहिलो खेलमा अस्ट्रेलियाले ३४ रनले पराजित गरेको थियो ।
अस्ट्रेलियाली टिमका कप्तान आरोन फिन्चले एडिलेडको पिच ब्याटिङका लागि उपयुक्त रहेको देखिएकाले पहिले ब्याटिङ रोजेको बताएका थिए । भारतीय कप्तान कोहलीले पनि टस जितेको भए पहिले ब्याटिङ रोज्ने बताएका थिए । उनले भने , “यहाँको पिच ब्याटिङका लागि ज्यादै राम्रो छ । तर, आज निकै गर्मी भएकाले खेल्न कठिन हुनेछ ।”
अस्ट्रेलियाली टिममा परिवर्तन गरिएको थिएन भने भारतीय टिममा एक खेलाडी परिवर्तन गरिएको थियो । तिब्र गतिका बलर खलिल अहमदको सट्टामा मोहम्मद सिराजलाई टिममा समावेश गरिएको थियो ।