१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनलाई शान्त पार्न एप्पलद्वारा २७५ अर्ब डलरको सम्झौता



अ+ अ-

एप्पल इंकका प्रमुख कार्यकारी टिम कुकले चिनियाँ अधिकारीहरूसँग करिब २७५ अर्ब डलर बराबरको एक सम्झौतामा हस्ताक्षर गरेका छन् । सो सम्झौताले चीनमा एप्पललाई आफ्ना उपकरणहरू र सेवाहरूलाई अवरोध गर्ने खतराहरूलाई कम गर्ने बताइएको छ । यद्यपि सो सम्झौतासम्बन्धमा एप्पलले कुनै प्रतिक्रिया दिएको छैन । 

एप्पलका आन्तरिक दस्तावेज र केही अन्तरवार्तालाई उद्धृत गर्दै रोयटर्सले कम्पनी विरुद्धको नियामक कारबाहीलाई रोक्न सन् २०१६ मा कुकले चीनको भ्रमण गर्दा पाँच वर्षको सम्झौता गरेको जनाएको छ । 

रोयटर्सका अनुसार एप्पलले स्थानीय अर्थतन्त्रमा पर्याप्त योगदान गरिरहेको छैन भन्दै आएका चिनियाँ अधिकारीहरुसँग कुकले लबिङ गरेका थिए र उनले बेइजिङलाई केही सहुलियत दिँदै चिनियाँ सरकारी एजेन्सीसँग सम्झौता गरे जसबाट एप्पललाई प्रमुख कानूनी सहुलियत प्राप्त भयो । 

सम्झौताअनुसार चीनमा एप्पलका केही लगानी नयाँ रिटेल स्टोर, अनुसन्धान विकास केन्द्र तथा नवीकरणीय ऊर्जा परियोजनाको निर्माणमा खर्च हुनेछ । चीन एप्पलको सबैभन्दा ठूलो बजार हो । एप्पलको चौथो त्रैमासिक वित्तीय प्रतिवेदनमा चीनमा उसको विक्री वार्षिक ८३ प्रतिशतले वृद्धि भएको बताइएको छ । 

सम्झौताअनुसार एप्पलले आफ्ना उपकरणहरूमा चिनियाँ आपूर्तिकर्ताहरूबाट थप कम्पोनेन्टहरू प्रयोग गर्ने, चिनियाँ सफ्टवेयर फर्महरूसँग सम्झौता गर्ने, चिनियाँ विश्वविद्यालयहरूसँग टेक्नोलोजीमा सहकार्य गर्ने र चिनियाँ प्राविधिक कम्पनीहरूमा प्रत्यक्ष लगानी गर्नेछ।