१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसओएसद्वारा चार बालबालिकाको उद्धार



अ+ अ-

तम्घास । गुल्मीमा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसोएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसओएसले संरक्षण गरेको हो । 

मदाने–५ मलायगिरीका चार वर्षीय बालक कुलदीप र १३ वर्षीया बालिका लक्ष्मी विक चार वर्षदेखि अभिभावकविहीन थिए । मालिका–३ ह्वाङदीका पाँच वर्षीय सन्दीप र तीन वर्षीय प्रदीप घर्ति मगर १४ महिनादेखि अभिभावविहीन भएका थिए । लामो समय बालबालिकाको बिचल्ली भएपछि इन्सेक गुल्मीसँग आफन्त र वडा कार्यालयबाट संरक्षणमा पहल गर्न निवेदन पेस भएको थियो । 

बालबालिकाको संरक्षण गर्न इन्सेकको पहलमा जिल्ला प्रशासन कार्यालय र दुवै स्थानीय तहको समन्वयमा एसोएसमा बालबालिका भर्ना गरिएको इन्सेक गुल्मीका प्रतिनिधि टोपलाल अर्यालले जानकारी दिनुभयो । मदानेका दुई दिदीभाइ गाउँपालिका उपाध्यक्ष सरिता खड्का र मालिकाका दुई दाजुभाइ वडाध्यक्ष राजकुमार विकले एसोएसमा लगेर भर्ना गर्नुभएको हो । एसोएस भैरहवाको टोलीले कात्तिक ११ गते गाउँ आएर बालबालिकाको वास्तविक अवस्थाको प्रतिवेदन बनाएको थियो । 

प्रतिवेदनका आधारमा बालबालिकालाई एसोएस बालग्राममा भर्ना गरिएको कार्यालय प्रमुख गोविन्द ढकालले जानकारी दिनुभयो । भर्ना भएकामध्ये दिदी लक्ष्मी विक काठमाडौँ होटलमा काम गर्थिन् । ढकालले अभिभावकविहीन बालिका होटलमा बालश्रम गरिरहेको पाइएपछि एसोएसको प्रतिवेदनका आधारमा बालिकालाई होटलबाट समेत उद्धार गरिएको बताउनुभयो । एसोएसको सिद्धान्तमा पनि भाइबहिनीलाई छुटाउन नपाइने भएकाले होटलबाट समेत उद्धार गरेर संरक्षण गर्न पाएकामा ढकालले खुसी व्यक्त गर्नुभयो । (रासस)