काठमाडौं । एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोइन ग्रिजम्यानले यो सिजनको अन्त्यसँग उनले क्लब छोड्ने बताएका छन् ।
मड्रिडमा ५ वर्ष बिताएका विश्वकप विजेता खेलाडी ग्रिजम्यानले शनिबार हुने क्लबको लेभान्टेविरुद्धको खेल एट्लेटिकोबाट अन्तिम खेल हुने बताएका छन ।
समाजिक सञ्जाल ट्वीटरमा भिडियो पोस्ट गरेर भनेका छन्, ‘यो क्लबमा बिताएका पाँच वर्ष उत्कृष्ट रहे । सबथोकका लागि धन्यबाद ।’
उनले आफ्ना समर्थकहरुलाई अहिलेको लागि एथ्लेटिको मड्रिड छाड्ने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मलाई जहिले असीमित माया दिएका समर्थकहरुलाई यो जानकारी दिन चाहन्छु कि अहिलेका लागि यो क्लब छोड्दैछु, अरु चिजहरु हेर्नका लागि र अरु चुनातीहरु सामना गर्नका लागि ।’
उनलाई बार्सिलोनाले एक सय २० मिलियन युरोमा किन्न खोजेको बीबीसीले जनाएको छ । एटलेटिकोले बार्सिलोनाको प्रस्ताव स्वीकार गरे २८ वर्षीय ग्रिजमन १ जुलाईमा बार्सिलोना प्रस्थान गर्नेछन् ।
ग्रिजम्यानलाई भित्र्याउनका लागि बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई कम्तिमा १२० मिलियन युरो तिर्नु पर्छ । उनलाई गत सिजन पनि बार्सिलोनाले अनुबन्ध गर्ने प्रयास गरेको थियो ।
एट्लेटिकोबाट ५ वर्षमा दुई सय ५६ खेलमा एक सय ३३ गोल गरेका ग्रिजम्यान २०१४ मा रियल सोसिडाडबाट अनुबन्ध भएका थिए ।
गत वर्ष बार्सिलोनाको अफरलाई अस्वीकार गरेका उनलाई डिसम्बर २०१७ मा नियमविपरीत अनुबन्धको प्रयास गरेको थियो । यो सिजनमा एट्लेटिकोबाट बाहिर हुने ग्रिजम्यान तेस्रो ठूलो खेलाडी हुन । यसअघि लुकास हर्नान्डेज, डिएगो गोडिनले क्लब छोडिसकेका छन ।