भरतपुर । गर्मीयाममा बच्चा कोरल्न नेपाल आउने चराको सङ्ख्या वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका सामुदायिक वनमा गरिएको गणना र अवलोकनबाट चराको सङ्ख्या बढेको पाइएको हो ।
चैतदेखि नेपालमा भारत, श्रीलङका र दक्षिण पूर्वी एशियाका देशबाट चरा अण्डा पार्न र बच्चा कोरल्न नेपाल आउने गरेको वर्ड एजुकेशन सोसाइटीका पूर्व अध्यक्ष वासु बिडारीले जानकारी दिए ।
‘चैतदेखि भदौभित्रको अवधिमा चरा यहाँ आउँछन्”, बिडारीले भने, “बच्चा जन्माइसकेपछि पुरानै बासस्थानमा फर्कन्छन् ।” चराले बच्चा कोरल्ने र हुर्काउने अवधि डेढदेखि दुई महिनासम्मको हुन्छ । अहिले आउने चराले घाँसेमैदान र रुखमा गुँड पार्ने गरेको बिडारीले जानकारी दिए ।
यो याममा आउने चराको गणना चितवनमा मात्रै गरिन्छ । वर्ड एजुकेशन सोसाइटी, हिमालयन नेचर, नेपाल पक्षीविद् सङ्घ र चितवन राष्ट्रिय निकुञ्जको सहयोगमा विगत पाँच वर्षदेखि चरा गणना गर्न थालिएको उनले बताए ।
चराविद् डा. हेमसागर बरालले कोइली, पिट्टा, लालठुँडे, ठेउवा, मुरली, सुनचरी लगायत प्रजातिका चरा यो याममा नेपाल आउने गरेको उनले बताए । उनका अनुसार प्रायः चरा वनमा आश्रित हुने भएका कारण कीरा फट्याङ्ग्रा र फलफूल खाएर बाँच्छन् ।
पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो विषादीको प्रयोगका कारण पनि कीरा फट्याङग्राको सङ्ख्या कम हुँदा चरालाई आहराको समस्या हुने गरेको बरालको भनाइ छ । जथाभावी विषादी प्रयोगले चराको वासस्थान सङ्कटमा पर्दै गएको हो ।
विभिन्न देशका पर्यटकहरु चरा हेर्नकै लागि समय छुट्याएर नेपाल आउने गर्छन् । नेपालमा अहिलेसम्म अभिलेख भएका ८ सय ८७ प्रजातिका चरा छन् । त्यसमध्ये ८ प्रचातिका चरा लोप भएको चरा विज्ञको अनुमान छ । नेपालमा मात्रै पाइने प्रजातिको चरा काँडेभ्याकुर हो ।