काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् ।
वाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा होमिएका मोदीले प्रारम्भिक मत गणनामा कांग्रेस उम्मेदवारलाई दोब्बर बढी मतले पछि पारेका हुन् ।
उनलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिएका छन् ।
दैनिक भास्करका अनुसार, मोदीलाई हालसम्म ११ हजारको अग्रता मिलेको छ । मोदीले २१ हजार २ सय ३६ मत ल्याउँदा कांग्रेसका अजय राय ९९८४ मतका साथ मोदीलाई पछ्याइरहेका छन् । शालिनी यादव तेस्रो स्थानमा छिन् । उनले ९२६१ मत पाएकी छन् ।
बिहान ८ बजेबाट सुरु भएको मतगणनामा मोदीको दल भारतीय जनता पार्टीले अग्रता लिइरहेको छ । आजतकका अनुसार, सत्तारुढ गठबन्धन एनडीए ३१० स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीएले एनडीएलाई पछ्याइरहेको छ । यसका १११ उम्मेदवार विभिन्न क्षेत्रमा अगाडि छन् ।
मतगणना हुनु पूर्व नै मतपरिणामका सर्वेक्षणहरु सार्वजनिक भएका छन् । एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी पुनः शक्तिमा आउने देखिएको छ ।
एग्जिट पोल अन्तर्गत रिपब्लिक/सी भोटरका अनुसार भाजपाले ३ सय , काँग्रेस गठबन्धनले करिब १ सय २० स्थानमा जित हासिल गर्न सक्ने देखिएको छ ।