काठमाडौं । सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप खेल्ने सपना अधुरै रहृयो ।
आइतबार भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ ।
जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए ।
कप्तान पारसले १२ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए ।मध्यक्रमका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।सिंगापुरका लागि सेलाडोर विजयाकुमारले ४ विकेट लिँदै नेपालको ब्याटिङक्रमलाई ध्वस्त बनाएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो ।
उसले पहिलो विकेट सस्तैमा गुमाएको थियो । तर टिम डेभिडले उत्कृष्ट पारी खेले ।
दोस्रो विकेटका लागि रोहन रंगराजनसँग ८९ रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि मनप्रित सिंहसँग ६६ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । डेभिड ७७ रनमा आउट भए । रोहन ४९ र मनप्रितले ४२ रन बनाए ।
नेपालका स्पीनरद्वय बसन्त रेग्मी र सन्दीप लामिछाने निकै महंगो सावित भए । चार ओभर बलिङ गरेका बसन्तले ५४ रन दिए र भने सन्दीपले ३ ओभरमा ३४ रन खाए ।
अभिनाश बोहोराले ४ ओभरमा ३५ रन दिएर ४ विकेट हात पारे भने करण केसीले २६ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चिए ।
सिंगापुरसँग फराकिलो हारसँगै टी-२० विश्वकप खेल्ने सपना बीचमा नै टुटेपछि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भनेका छन्, ‘आज हाम्रो दिन थिएन ।’
खेलपछि कप्तान पारसले सिंगापुरले राम्रो ब्याटिङ गरेको बताए । यद्यपि टी-२० विश्वकप वा ग्लोबल छनोट खेल्ने सपना खेल्ने टिमले १९२ रनको लक्ष्य भेट्टाउनुपर्ने भन्दै उनले भने, ‘हामीले राम्रो खेलेनौं । उनीहरुले राम्रो गरे ।’उनले अघि भने, ‘आज हाम्रो दिन थिएन ।’
यता स्पीनर सन्दीप लामिछानले निराशा व्यक्त गरेका छन् ।न्दीपले रिजल्ट निकै निराशाजनक भएको बताए । सिंगापुरले निकै राम्रो क्रिकेट खेलेको भन्दै उनले भने, ‘बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा हामीले भेट्टाउन सकेनौं ।’