पोखरा । यति एअरलाइन्सले आफ्नो ३० सिट क्षमतायुक्त ‘जेटस्ट्रिम–४१’ विमानमार्फत पोखराबाट भैरहवा, भरतपुर र नेपालगञ्ज (चार्टरमा मात्र) का लागि उडान सेवा सुरु गर्ने भएको छ ।
साथै, यति एअरलाइन्सले पोखराबाटै दैनिक माउन्टेन फ्लाइट, ‘अन्नपूर्ण एक्सप्रेस’ समेत थाल्ने भएको छ । यति एअरलाइन्सले आउँदो साउन १६ गतेबाट भैरहवाका लागि पोखराबाट दैनिक उडान सुरु गर्न लागेको हो ।
त्यसैगरी, पोखराबाटै भरतपुरको उडान भाद्र १५ गतेबाट र ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट भाद्र २९ गतेबाट सुरु हुनेछ । यतिले पोखराबाट नेपालगञ्जका लागि ‘चार्टर्ड फ्लाइट’ सेवा पनि सुरु गरेको छ ।