काठमाडौं । पाकिस्तानको रावलपिण्डीमा सैन्य विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा १२ जना सर्वसाधारण र ५ जना चालक दलका सदस्यसहित १७ जनाको ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।विमान दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
तालिमको क्रममा रहेको सेनाको सानो विमान आवासीय क्षेत्रमा मंगलबार बिहान दुर्घटनाग्रस्त भएको हो । विमान आवासीय क्षेत्रमा खसेका कारण धेरै क्षति भएको स्थानीय प्रशासनले जनाएको छ ।
दुर्घटनाको कारण भने नखुलेको र अहिले उद्धारको काम भैरहेको खबरमा उल्लेख छ ।आवासीय क्षेत्रमा विमान खसेपछि केही घरहरुमासमेत आगलागी भएको छ । राजधानी इस्लामाबाद नजिकै रहेको रावलपिण्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ ।